धनकी देबी लक्ष्मीले सेयर लगानीकर्ताको पूकार सुनिनन्, थामिएन पहिरो



काठमाडौं । गत मंगलबार अनलाइन कारोबार प्रणालीको उदघाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले सेयर लगानीकर्तालाई भनेका थिए- लक्ष्मी पूजामा सेयर बजार बढोस् भनेर कामना गर्नुहोस् । र, धनकी देवी लक्ष्मीले राम्रा कम्पनीको सेयर छानिछानी किन्ने शक्ति दिउन् । त्यसपछि सेयर लगानीकर्ताहरुले कमाउनु हुन्छ । र, हामी त्यो कमाइमा पुँजीगत लाभकर लगाउँछौं ।’

अर्थमन्त्री भएयता सेयर बजारका बारेमा सँधै नकरात्मक टिप्पणी गर्ने खतिवडाले सो दिन भने सेयर बजारका बारेमा सकरात्मक टिप्पणी गरेका थिए ।

उनले लगानीकर्ताहरुलाई सेयरबाट नाफा कमाउने टिप्स समेत दिएका थिए ।

अनलाइन कारोबारको सुरुवात र अर्थमन्त्रीको सकरात्मक टिप्पणीले तिहारपछि सेयर बजार बढ्छ भन्ने अपेक्षा गरिएको थियो ।

तर, तिहारपछि भएको पहिलो कारोबारले लगानीकर्ताहरुलाई सुखद अनूभूति गराउने संकेत गरेको छैन । कारोबार सुरु भएको डेढ घन्टामै नेप्से परिसूचक ५ अंकले घटेको छ ।

सुरुवाती चरणमा १/२ अंकले बढेको नेप्से साढे ११ बजेपछि घट्न थालेको हो ।

१८८२ बाट घटेर १२०० को हाराहारीमा नेप्से सूचक आइपुगेपछि सेयर लगानीकर्ताहरु अत्तालिएका छन् । लगानीकर्ताहरुले लक्ष्मी पूजाका दिन सेयर बजार बढोस् भनेर धनकी देवी लक्ष्मीसँग गरेपनि बजार भने बढ्न सकेन ।

सुरुवाती चरण सुखद नदेखिए पनि बजार बन्द हुँदा बढ्न सक्छ । प्रत्येक दिन नेप्सेमा ११ बजेदेखि ३ बजेसम्म सेयर कारोबार हुन्छ ।

वाणिज्य बैंक, विकास बैंक र जलविद्युत कम्पनीहरुको सेयर घटेपनि अहिलेसम्म बीमा कम्पनी, लघुवित्त कम्पनी र अन्य समूहको उपसूचक भने बढेका छन् ।


पुष्प दुलाल