३ महिनामा ३ करोडको कृतिम फूलका माला भित्रियो, भारत भन्दा चीनबाट धेरै आयात



काठमाडौं । तिहार पर्वलाई विशेष गरी सजिसजावटको पर्वको रुपमा लिइन्छ । तिहारमा हामी घर सजाउने, सुन्दर बनाउने काम गछौँ । त्यसका लागि हामी बजारमा पाइने प्रकृतिक फूल होस् या कृतिम सामाग्री सबै प्रयोग गर्छौँ ।

सजावटका लागि प्रयोग गरिने कृतिम फूल तथासामानहरु सबै बाहिरी देशहरुबाट आयात हुने गरेको छ । नेपालमा विशेष गरेर तिहारमा यस्ता सजावटका सामाग्रीहरु आयात हुने गर्छन् । तिहारमा आयात हुने यस्तो कृतिम फूल तथा सजावटका सामान सबै चीन र भारतबाट आयात हुन्छ ।

भारतबाट भन्दा विशेष चीनबाट कृतिम फूल तथा सजावटका सामानहरु आयात हुने गरेको भन्सार विभागको तथ्याङ्क देखाएको छ । नेपालमा कृतिम फूल, माला तथा सजावटका सामाग्रीहरु चालु आर्थिक वर्षको ३ महिनामा ३ करोड ५६ लाख ६६ हजार रुपैयाँ बराबरको आयात भएको छ ।

यस्तै गत वर्षको ३ महिनामा कृतिम फूल, माला तथा सजावटका सामाग्रीहरु १ करोड ८३ लाख ७४ हजार रुपैयाँ बराबरको मात्र आयात भएको थियो ।

तथ्याङ्क विभागका अनुसार कृतिम फूल, माला तथा सजावटका सामाग्रीहरुको आयातपनि प्रत्येक वर्ष बढ्दो क्रममा रहेको देखिन्छ । अझ दशैं तिहारको समयमा यसको आयात बढी हुने गरेको छ ।

गत आर्थिक वर्षमा कुल ५ करोड ५५ लाख ८९ हजार रुपैयाँ बराबरको आयात भएको थियो । आर्थिक वर्ष २०७३\७४ सालमा ५ करोड ७६ लाख २४ हजार रुपैयाँ बराबरको कृतिम फूल, माला तथा सजावटका सामाग्रीहरु आयात भएको भन्सारको तथ्यांकले देखाएको छ ।

प्राकृतिक फूल ३ महिनामा १ करोडको आयात
भन्सार विभागको तथ्यांकलाई हेर्ने हो भने चालु आर्थिक वर्षको ३ महिनामा सयपत्री फूल १ करोड ७ लाख ३९ हजार रुपैयाँ हाराहारीमा आयात भएको तथ्यांक अधिकृत राम प्रसाद वाग्लेले जानकारी दिए ।

उनका अनुसार गत वर्ष सयपत्री फूल ३ करोड ११ लाख ४१ हजार रुपैयाँ बराबरको आयात भएको थियो । गत वर्षको पहिलो ३ महिना साउन, भदौ र असोज महिनामा ७० लाख ९४ हजार रुपैयाँ हाराहारीमा सयपत्री फूल आयात भएको थियो ।

यस्तै, आर्थिक वर्ष २०७३÷७४ सालमा १ करोड ४१ लाख ९७ हजार रुपैयाँको हाराहारीमा सयपत्री फूल आयात भएको थियो । नेपालमा सयपत्री फूलका माला भारत र थाइल्याण्डबाट आयात हुन्छ भने कृतिम फूल, माला तथा सजावटका सामाग्री चीन र भारतबाट आयात हुन्छ ।

आजभोलि कृतिम फूल, माला तथा सजावटका सामाग्री आयातमा भारतलाई चीनले उछिनेको भन्सार विभागका वाग्लेले जानकारी दिए ।


क्लिकमान्डु