घाटामा रहेको माथिल्लो तामाकोशीको सेयरमा किन ओइरिए लगानीकर्ता ?



काठमाडौं । माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको साधारण शेयरमा ६ अर्ब रुपैयाँ बढीको आवेदन परेको छ । तर कम्पनीले भने अपेक्षा गरे भन्दा अझै २ अर्ब कम भएको बताएको छ ।

यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा सोमबार साँझसम्म ६ अर्ब बराबरको आवेदन परेको हो । अन्तिम विवरण भने आज प्राप्त हुने कम्पनीले जनाएको छ ।

कूल ३ लाख आवेदकले सेयरका लागि आवेदन दिएको कम्पनीले जनाएको छ । बैंक तथा वित्तीय संस्थामा बुझाइएका आवेदन फारम तथा आश्वा प्रणालीको समेत अन्तिम विवरण आउन बाँकी भएकाले केही रकम भने बढ्न सक्ने देखिएको छ । कूल पूँजीको १५ प्रतिशत साधारण शेयर कम्पनीले बिक्री गरेको हो ।

निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता देखिएको हो ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेका अनुसार सोमबार साँझसम्म ३ लाख बढीले आवेदन दिएको तथ्यांक प्राप्त भएको छ ।

कम्पनीले १ अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । प्रवक्ता न्यौपानेले करिब ६ लाख आवेदकले आवेदन दिने अपेक्षा गरिएको भएपनि आश्वा प्रणालीमा सबै लगानीकर्ता परिचित र जानकार नभएका कारण केही कम भएको बताए ।

कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । कम्पनीले निकट भविष्यमा नै रोल्वालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

कम्पनीले गत बुधबार मात्रै दोलखावासीलाई बिक्री गरेको साधारण सेयरको बाँडफाँट गरेको थियो ।

कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता, ऋणदाता संस्थाका कर्मचारी, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजना प्रभावित दोलखावासी र सर्वसाधारणलाई शेयर बिक्री गरेपछि सो आयोजनाको सर्वसाधारण समूहको सेयर बिक्री प्रक्रिया सकिएको छ । सो समूहमा १० अर्ब रुपैयाँ बराबरको सेयर बिक्री गरिएको छ ।

निर्माणाधीन माथिल्लो तामाकोशी आगामी आर्थिक वर्षको कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने समयसीमा तय गरिएको छ । चालू आवको पुस मसान्तमा निर्माण सकिने कार्यतालिका बनाइएको भए पनि निर्माण व्यवसायीको कमजोरी, निर्माण सामग्री आयातमा देखिएको समस्यालगायतका कारणले आयोजनाको म्याद पर धकेलिएको हो ।

सरकारी स्वामित्वको कम्पनी रहेको र प्रतिफल पाइने विश्वासका साथ लगानीकर्ता तामाकोशीको सेयरमा लगानीकर्ताको बढ्ता चासो रहेको हो ।

आयोजनाको भौतिक प्रगति ९७ प्रतिशत सम्पन्न भएको, नेपालको हालसम्म कै ठूलो परियोजना भएका कारण पनि लगानीकर्ताले बढी व्श्विास गरेको हुन सक्ने बताइन्छ ।

सरकारी स्वामित्वका कम्पनी प्रति आम नागरिकको विश्वास रहेको छ भन्ने पुष्टि भएको प्रवक्ता डा न्यौपानेको भनाइ छ । तर तत्कालका लागि भने सो आयोजनाको सेयरमा फाइदा भने देखिदैन । गत आर्थिक वर्षमा सो कम्पनीको प्रतिकित्ता सेयरमा २ रुपैयाँ घाटा रहेको थियो भने चालु आवमा प्रतिकित्ता सेयरमा २० पैसा घाटा रहेको छ ।

आगामी आवमा सो कम्पनीको सेयरमा नाफा घाटा केही पनि नरहने कम्पनीले नै सार्वजनिक गरेको आह्वानपत्रमा उल्लेख थियो । आगामी ३ वर्षदेखि मात्रै सो कम्पनीको सेयरमा नाफा हुने देखिएको छ ।


पुष्प दुलाल