हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले यी २४ उद्योगसँगको सम्झौता रद्द गर्दैछ (सूचिसहित)



काठमाण्डौ । हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले संझौता अनुसार कार्य नगरेका उद्योग प्रतिष्ठानलाई सचेत गराउँदै संझौता रद्द गर्ने भएको छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका अनुसार भविश्य मैदा मिल प्रालिले २०७३ माघ १ गतेदेखि लागु हुने गरी मैदा, आँटा, सुजी उत्पादन गर्नका लागि संझौता गरी १२.८८ रोपनी जग्गा बहालमा लिएको थियो ।

तर, सो जग्गामा उद्देश्य विपरित बेबी बाइप्स उत्पादन गरेको हुँदा ५० हजार जरिवाना गर्ने निर्णय भएको कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।
साथै सो संस्थालाई ३ महिना भित्र उद्देश्य अनुसार कार्य गर्न मौका दिइने छ । सो अवधिमा संझौता अनुसारको कार्य नगरेमा संझौता नै रद्द गर्ने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

यसैगरी, खारेजी अवस्थामा रहेको हेटौंडा कपडा उद्योग परिशर र विस्तारित नयाँ औद्योगिक क्षेत्र भित्र जग्गा बहालमा लिई तोकिएको म्याद भित्र निर्माण कार्य नगरेका १४ वटा संस्थालाई ३५ दिन भित्र कारखाना भवन र आवश्यक भौतिक संरचना निर्माणको नक्सा पेश गर्न सार्वजनिक सूचना जारी गरिएको छ ।

कार्यालयले सन रे इनर्जी, नाथ फुड इण्डट्री प्रालि, नेशलन स्ट्र. ई.प्रालि, सनराइज कम्पनी प्रालि, सी एभरेष्ट प्रालि, हेटौंडा रबर उद्योग, फार्मर एग्रो सेन्टर, मदरल्याण्ड एग्रिकल्चर प्रालि, एपेक्स फुटवेर ईण्डष्ट्रिज, नेपाल प्लाल्टिक, अविनास एग्स प्रालि, टीएसएल प्लास्टिक, यिवाईएस प्रालि र न्यू मकवानपुर फुड इण्डष्ट्रिजका नाममा सूचना जारी गरेको छ ।

यी उद्योग प्रतिष्ठानले ६ महिनाभित्र उद्योग सञ्चालन नगरेमा संझौता रद्द गरिने हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

त्यसैगरी, श्री बानियाँ मल्टी प्रडक्ट इण्डष्ट्रिज प्रालिले २०७३ भदौ ३ गते संझौता गरेपनि उद्योग सञ्चालन नगरी असम्बन्धित मालसामान भण्डारण गरेकाले ५० हजार जरिवाना गर्ने निर्णय भएको छ । ती सामान १ महिना भित्र हटाउन र ३ महिना भित्र उद्योग सञ्चालन नगरे संझौता रद्द गर्ने कार्यालयले जनाएको छ ।

हेटौंडा औद्योगिक क्षेत्र भित्र सुजल डेरी प्रालि र सुजल फुड्स प्रालिले २०६७ असोज १० गते जग्गा बहालमा लिएपनि हालसम्म उद्योग सञ्चालन भएको छैन । यसरी लामो समयसम्म उद्योग सञ्चालन नगर्ने ती संस्थालाई ५० हजार जरिवाना गर्ने र ३५ दिन भित्र उद्योग निर्माणको काम गर्न र ६ महिनाभित्र उत्पादन शुरु गर्न निर्देशन दिइएको छ । अन्यथा संझौता रद्द गर्ने कार्यालयद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

साथै रुख नहटाइएको कारण भौतिक संरचना निर्माण शुरु नगरेका क्वालिटी ह्याचरी र जोशी अटो वक्र्सलाई ३५ दिन भित्र भवनको नक्सा पेश गर्न र भौतिक संरचना भित्र पर्ने रुख हटाउन जिल्ला वन कार्यालयमा लेखी पठाउने निर्णय भएको छ । तोकिएको समय भित्र नक्सा पेश नगरेमा संझौता रद्द गरिने समेत सूचनामा उल्लेख छ ।

यस्तै, त्रिशक्ति पोली प्याक्स उद्योगले समेत संझौता विपरित कार्य गरेको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । संझौता विपरित कार्य गर्ने सो औद्योगिक प्रतिष्ठानलाई २० हजार जरिवाना गर्ने, भण्डारण गरिएका असम्बन्धित सामान १ महिना भित्र हटाउनु पर्ने र नहटाएमा संझौता रद्द गर्ने जनाइएको छ ।

२०६३ साल बैशाख १५ गते संझौता गरेको ग्लोबल राइटिङ्ग सिस्टम्स प्रोडक्ट्सले ६ रोपनी जग्गामा भवन निर्माण गरेपनि हालसम्म उद्योग सञ्चालनमा ल्याएको छैन । अन्तिम मौका स्वरुप ६ महिनाभित्र उद्योग सञ्चालन नगरेमा संझौता रद्द गरिने कार्यालयले जनाएको छ ।

यता, पाठक फुड्स प्रालि र ग्रिन गोल्ड प्रालिलाई ३ महिनाको समय दिने र सो अवधिमा पनि उद्योग सञ्चालनमा नल्याए संझौता रद्द गरिने औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । पाठक फुड्सले २०७३ माघ ५ गते र ग्रीन गोल्डले २०६७ असोज १ गते संझौता गरेपनि हालसम्म उद्योग सञ्चालन भएको छैन ।


क्लिकमान्डु