२५० रुपैयाँ लगानीमै २ खर्ब कमाइ !



वासिंटन डिसी । तपाईलाई लाग्छ अमेरिकामा आज गोजीमा दुई डलर (करीब २ सय ५० नेपाली रुपैयाँ) मात्रै भएको व्यक्ति एकै दिनमा विश्वको डलर अर्बपतिको सूचीमा प्रवेश गर्ला ? यो त सपनामा मात्र हुन्छ भन्ने सोच्नुभएको भए यो विपनामै संभव हुने भएको छ ।

अमेरिका आज दुई डलर लगानी गरेका व्यक्ति एकै पटक दुई अर्ब डलरको मालिक हुने दिन आउने भएको छ । खासमा यसरी एकैचोटी विश्वको अर्बपति सुचीमा पुग्न सक्ने नागरिक भने जो कोही पनि हुन सक्छन् । अर्थात अमेरिकामा बसोबास गर्ने नेपाली पनि ।

यो सपना जस्तो विपना हुन लागेको चाँही अमेरिकामा सरकारी स्तरमा राष्ट्रव्यापी रुपमा खेलाईने एक चिठ्ठाले गर्दा हो । प्रत्येक हप्ताको दुई पटक खोलिने मेगा मिलियन नाम गरेको चिठ्ठा लगातार २५ पटकसम्म कसैलाई नपर्दा यसमा रकम थुप्रिने क्रम बढेसँगै यो १ अर्ब ६० करोड डलर बराबर (१ खर्ब ८७ अर्ब नेपाली) को भएको छ ।

तर मंगलबारसम्म यो रकम बढेर २ अर्ब डर पुग्ने संभावना उच्च छ । यो सँगै मेगा मिलियनले अहिलेसम्मको सबै रेकर्ड तोडेको छ ।

शुक्रबार र मंगलबार स्थानीय समय अनुसार राति ११ बजे खोलिने यो चिठ्ठा जम्मा दुई डलरमा किन्न पाईन्छ । चिठ्ठामा ६ वटा नम्बर उल्लेख गरिएको हुन्छ । यदि लक्की ड्र गर्दा त्यो टिकटमा भएको ६ वटै नम्बर र लक्की ड्रबाट निस्किएको नम्बर मिलेमा अहिलेसम्म थुप्रिएको सबै रकम हात पार्न सकिन्छ ।

तत्काल नगदमा सबै लिन चाहेमा पनि करिब ९४ करोड डलर(करिब १ खर्ब नेपाली) तत्काल आफ्नो खातामा आउने छ । सरकारलाई ठूलो कर तिर्नुपर्ने भएकोले रकम मात्रै होईन ठूला करदाताको सुचीमा समेत आफूलाई उभ्याउन सकिन्छ । हाल अमेरिकाको हवाई बाहेक सबै राज्यमा यो चिठ्ठा कार्याक्रम सञ्चालित छ ।

लामो समयदेखि सरकारी निकायकै सहयोगमा व्यवसायिक रुपमै यहाँ चिठ्ठा कार्यक्रम सञ्चालित छ । जसमा राष्ट्रियस्तरमा सञ्चालित दुई चिठ्ठा मेगा मिलियन र पावरबलको नतिजा सातामा दुई पटक सार्वजनिक गरिन्छ ।

तर, पछिल्लो २५ पटकसम्म मेगा मिलियनको चिठ्ठा कसैले जितेको छैन ।

पावरबलको चिठ्ठा पनि लामो समयदेखि कसैले नजित्दा करिब ७० करोड डलर पुगिसकेको छ । चिठ्ठा खोलिएको समयमा कसैले चिठ्ठा नजिते उक्त समयमा चिठ्ठा विक्रिबाट उठेको रकम अर्को चिठ्ठामा जोडिन्छ । यसरी धेरै पटक कसैले नजित्दा यो रकम बढेर ठूलो अंकमा पुग्ने गरेको छ । यस भन्दा अगाडि पावरबलको रकम एक अर्ब डलर भन्दा माथि पुगेको थियो । तर मेगामिलियनको पहिलो पटक उच्च विन्दुमा पुगेको हो ।

शनिबार मात्र खुलेको पावरबल चिठ्ठाको पुरस्कार राशी ४८ करोड डलर माथीको थियो । २ डलरमा किनिने यो चिठ्ठामा पनि रकम बढेसंगै अमेरिकाको धेरै व्यक्तिले खर्च बढाएका छन् । ग्यास स्टेशन र अन्य टिकट पसलहरुमा सर्वसाधरणको भिड लागेको छ । तर, जति चिठ्ठाको बिक्री बढ्ने गर्छ जित्ने संभावना भने कम हुँदै जाने गर्दछ ।

२ डलर खर्च गरेर चिठ्ठा किन्दा पर्ने सम्भावना भने करिब ३० करोडमा १ हुन्छ ।

अमेरिकाको मल्टिस्टेट लोटरी एशोसिएसनको अनुसार अमेरिकामा वार्षिक ७५ देखि ८० अर्ब डलर चिठ्ठामा खर्च हुन्छ । र, त्यसको २५ देखि ३९ प्रतिशतसम्म कर मार्फत सरकारले संकलन गर्दछ । करको दर र रकम राज्य अनुसार फरक रहेको छ ।


पुष्प दुलाल