चामल-दाल-तेल उद्योग संघको अध्यक्षमा गुप्ता निर्वाचित



काठमाण्डौं । नेपाल चामल तेल दाल उद्योग संघको अध्यक्षमा सुवोध कुमार गुप्ता निर्वाचित भएका छन् । संघको काठमाण्डौँमा सम्पन्न अधिवेशन तथा ४२औँ वार्षिक साधरण सभाले गुप्ताको अध्यक्षतामा र्निविरोध नयाँ कार्यसमिती चयन गरेको हो ।

कार्यसमितीको प्रथम उपाध्यक्षमा राम थापा निर्वाचित भएका छन् । त्यस्तै द्धितिय उपाध्यक्षमा नरेश राठी, महासचिवमा दिपक कुमार पौडेल, उपमहासचिवमा धिरज गोल्छा, कोषाध्यक्षमा रतन लाल केडिया निर्वाचित भएको संघले एक प्रेस विज्ञप्ती जारी गरी जनाएको छ । यस्तै सदस्यहरुमा जगदिश अग्रवाल, मुक्ति अग्रवाल, दिपक सापकोटा, चीरन्जीवी रिजाल, सुसान्त चाचान निर्वाचित भएका छन् ।

काठमाण्डौँमा सम्पन्न अधिवेशन तथा साधारण सभाले विभिन्न निर्णयहरु समेत गरेको संघले जनाएको छ । संघका प्रथम उपाध्यक्ष राम थापाले धान चामल बोर्ड गठन हुनुपर्ने, पिनामा लाग्दै आएको निर्यात शुल्क हटाउनुपर्ने, स्वदेशी चामल उद्योग बचाउको लागि चामलमा लाग्दै आएको कृषि सुधार शुल्क १५ प्रतिशत कायम हुनुपर्ने, मुसुरो दालमा लाग्दै आएको निकासी शुल्क खारेजी हुनुपर्ने लगायतका मागहरुको विषयमा निर्णय भएको बताए ।

संघको प्रथम उपाध्यक्ष थापाले सरकारले स्वदेशी उद्योगको प्रवद्धनको लागि उद्योगीहरुसगँ छलफल गरेर अघि बढे मात्र स्वदेशी उद्योगहरुको प्रवद्धन हुन सक्ने बताए । उनले सरकारले स्वदेशी उद्योगलाई वेवास्ता गर्दै आएकोले छिमेकी मुलुकबाट अर्बौँ रुपैयाँको चामल, तेल, दाल आयात गर्नुपरेको बताउँदै यसको अन्त्यको हुनुपर्ने बताए ।


पुष्प दुलाल