माथिल्लो दोर्दी ए को सुरुङ ब्रेक थ्रू, मार्च भित्र विजुली बल्ने



काठमाडौ । लमजुङको दोर्दी करिडोरमा निर्माणाधिन २५ मेगावाट क्षमताको माथिल्लो दोर्दी-ए जलविद्युत आयोजनाको सुरुङ निर्माण प्रक्रिया सम्पन्न भएको छ ।

आयोजनाले आज बिहान छोटेखोलाको क्यूखोर भन्ने स्थानमा मूख्य सुरुङको ‘ब्रेक थ्रु गरेको हो ।

विसं २०७१ देखि निर्माण शुरु भएको आयोजनाको कुल २ हजार ६२३ मिटर लामो भुमिगत सुरुङ निर्माण सम्पन्न भएको लिवर्टी इनर्जीले जनाएको छ ।

विद्युतगृह र बाँधको कुल दुरी ५ हजार ४५७ मिटरमध्ये २ हजार ८ सय ३४ मिटरको भागमा पेनस्टक पाइप जडान भइसकेको छ ।

प्रवद्र्धक कम्पनी लिवर्टी इनर्जीले आयोजनाको कुल प्रगति ८० प्रतिशत बढी भएको जनाएको छ । आगामी मार्च महिनाभित्र आयोजनाको भौतिक निर्माणको काम सम्पन्न गर्ने तयारीमा कम्पनी छ ।

दोर्दी गाउँपालिका वडा नं ६ मा निर्माण गरिएको सो आयोजनामा १२.५ मेगावाट क्षमताका २ वटा पेल्टन टर्बाइन रहने छ । आयोजनाको कूल लागत ४ अर्ब रहेको छ । आयोजनामा ७० प्रतिशत ऋण र ३० प्रतिशत प्रवद्र्धकको स्वपूँजी रहेको छ ।

आयोजनामा विभिन्न ९ बैकले २ अर्ब ७७ करोड ४० लाख लगानी गरेका छन् । बार्षिक १३ करोड ८४ लाख १० हजार युनिट बिजुली उत्पादन हुन प्रवद्र्धक लिबर्टी इनर्जीले जनाएको छ ।


पुष्प दुलाल