काठमाडौंमा घडेरी खोज्दै हुनुहुन्छ ? घर बनाउन यी ठाँउ डरमर्दाे छन्




काठमाडौं । देशको राजधानी छिरेर सानोतिनो पेशा ब्यवसाय गर्दै मध्यमस्तरको आम्दानी गर्नेहरुको पनि काठमाडौं उपत्यकामा सानोतिनो घडेरी किनेर घर बनाउने सपना हुन्छ ।

काठमाडौं बाहिरको जग्गाजमिन बेचेर यहाँ घर घडेरी किन्ने हो भने बाहिरको रेखोपाखो बेचेको पैसाले ३÷४ आना जग्गा मात्रै किन्न सकिन्छ । मध्यम आय भएका ब्यक्तिहरुले बैंक वित्तीय संस्थाबाट ऋण लिएर घरजग्गा किन्ने हो भने त्यो ऋण तिर्दै जिन्दगी वित्न पनि सक्छ ।

अर्थात काठमाडौं उपत्यकामा जग्गा धेरै महंगो छ ।

काठमाडौंमा घरै घर भइसके भन्ने सुन्दै आइएको छ । खाली जमिन पाउन मुस्किल भयो भन्नेहरु पनि छन् । काठमाडौं उपत्यकाको जनघत्व पनि बढेको छ । तर, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको खानी तथा भूगर्भ विभागले गरेको अध्ययन अनुसार काठमाडौं उपत्यका भित्रका धेरै ठाँउहरु अहिले बनाइने गरे जस्तो कंक्रिटको घर बनाएर बस्न उपयुक्त छैनन् ।

काठमाडौंकै बुढानिलकण्ठ नगरपालिका अन्तरगतको टुसाल क्षेत्रमा जमिन भासिएपछि अहिले धेरैको मनमा चिसो पस्न थालेको छ ।

टुसाल डाडामा जमिन भासिएर कस्तो भएछ भनेर यहाँ क्लिकगरी हेर्नसक्नुहुन्छ ।

तर, यस्ता अन्य क्षेत्रमा पनि जमिन यस्तै खाले समस्या आउन सक्ने खानी तथा भूगर्भ विभागका उपमहानिर्देशक सुधीर रजौरे बताउँछन् ।

‘माटो काटिएको ठाँउमा कम जोखिम भएपनि माटो पूरिएको ठाँउमा बढी जोखिम देखिन्छ, २०७२ को भूकम्पले काठमाडौंका विभिन्न स्थानमा जमिन भाजा परेको भनेर धेरैले ख्याल गरेनन्, तर यसको कारण भूकम्पभन्दा पनि प्लटिङको लागि माटो पुरिएको जमिन भासिएको थियो,’ उपमहानिर्देशक रजौरेले क्लिकमाण्डूसँग भने ।

विभागले काठमाडौं उपत्यकाको जमिनको भित्री अबस्था कस्तो छ भनेर नक्सा नै तयार पारेको छ । विभागका अनुसार उपत्यकाको काँठ क्षेत्रबाहेकको अधिकांश समथर जमिन सामान्य किसिमले पूर्वाधार बनाएर बस्नयोग्य छैनन् ।

कुन कुन हुन बढी जोखिम भएका ठाँउ ?
विभागले तयार पारेको नक्सा अनुसार काठमाडौंको बालाजु औद्योगिक क्षेत्र र आसपासको क्षेत्र, सतुंगल, किर्तिपूर, विष्णुदेवी, जस्ता क्षेत्रको जमिन कमजोरर छ । तर, बालुवाटर, लाजिम्पाट, हुदै बौधसम्मको क्षेत्र र कालिमाटी लाजिम्पाटदेखि कालिमाटी हुदै पाटनसम्मको जमिनमुनी बालुवा र कालोमाटो छ । यो क्षेत्र बढी जोखिमपूर्ण रहेको विभागको भनाइ छ ।

भक्तपूर जिल्लाको मुख्य सहरी क्षेत्र पनि बस्तीको लागि जोखिमपूर्ण नै रहेको अध्ययनले देखाएको छ । ललितपूरको चापागाउँ, गोदावरी, ठेचो, सुनाकोठी जस्ता ठाँउहरु तुलनात्मक रुपमा सुरक्षित देखिएका छन् ।

ललितपूरको हरिसिदी, ठैब, बाँडेगाँउ, सानागाँउ र लुभू क्षेत्रको जमिन पनि कमजोर नै रहेको विभागले उल्लेख गरेको छ ।

कसरी गरेको थियो विभागले अध्ययन ?
विभागले काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानहरु स्थालगत अध्ययन गरेर नक्सा तयार पारेको हो ।

जमिनमुनी कस्तो प्रकारको माटो वा चट्टानको अबस्था कस्तो छ भनेर विभागले जमिनको १० मिटर मुनीसम्म आफ्नो उपकरण गाडेर अध्ययन गरेको थियो ।

यस्तै ६५ केजी तौल भएको ह्याम्बरले १ मिटर माथिबाट हान्दा १५ सेन्टिमिटर जमिनमुनी भासिन कति पटक लाग्छ भन्ने विधिबाट पनि जमिनको अबस्थाको अध्ययन गरेर नक्सा तयार पारेको हो ।


क्लिकमान्डु