बुढानिलकण्ठको टुसालडाँडामा पहिरो, ३ घरपरिवार बिस्थापित, जोखिममा १५ घरपरिवार



काठमाडौं । बुढानिलकण्ठ नगर पालिकाको टुसालडाँडा क्षेत्रमा केहीदिन यता सुख्खा पहिरोले स्थानीय वासिन्दालाई प्रभावित पारेको छ । पहिरोका कारण स्थानीय ३ जनाको घर पूर्णरुपमा क्षति पुगेको छ ।

१ घरपरिवार बिस्थापित भएर स्थानीय मानेघरमा शरण लिएको छ भने २ घरपरिवार कोठा भाडामा लिएर बस्दै आएका छन् । अरु १५ जोखिममा छन् । पहिरो झर्ने क्रम नरोकिने र रोक्नका लागि प्रयासपनि नगरिने हो भने ती १५ घर पनि बिस्थापित हुने स्थानीय बासिन्दा बनाउँछन् ।

भिरालो क्षेत्रको वस्तीमा सुख्खा पहिरो के कारणले गएको हो कारण पत्ता लागेको छैन । सो क्षेत्रको सुरक्षाको लागि ठूला ढुंगा नेपाली सेनाले फुटाउन थालेको छ । स्थानीय स्थानीयबासी जोखिम मोलेर बसेका छन् ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले पहिरोको कारणका बारेमा अनुसन्धान भइरहेको बताए । अबिरत बर्षा र यसअघिको भुईँचालोका कारण अहिले सुख्खा पहिरो गएको हुन सक्ने अनुमान गरिएको छ ।

सो क्षेत्रको पहिरोबारे जिल्ला दैवी प्रकोप उद्धार समितिलाई ३ दिन भित्र रिपोर्ट बुझाउन प्रमुख जिल्ला अधिकारीबाट समेत निर्देशन भएको छ ।

बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ५ को अध्यक्ष विजय तामाङले रेडक्रस, पुनर्निर्माण प्राधिकरण र भूगर्वविद् समेतको सहभागितामा पहिरो जानुको कारण पत्ता लगाउने कोशिश भइरहेको बताए ।

सो क्षेत्रमा भदौ ९ गतेबाट नै सुख्खा पहिरो जान थालेको स्थानीयवासी बताउँछन् । केहीदिन अघिदेखि टुसाल डाँडामा धाँजा फाट्न थालको छ । खाल्डो परेका ठाउँमा सिमेन्ट समेत हालेको हालिएको छ । सो क्षेत्रको जमीन १ फिट नै फाटेको छ र सडक पनि बिग्रिएको छ ।

दिउँसो कम राती बढी बग्दो रहेछ डाँडा

अहिले टुसाल डाँडामा रातको समयमा धेरै पहिरो खस्ने र जमिन फाटिने गरेको वडा नम्बर ५ का अध्यक्ष तामाङले बताए ।

के भन्छन् त पहिरो प्रभावित वासिन्दा ?

स्थानीय कालिप्रसाद धिताल पहिरोले घरमा क्षति पुगेपछि अहिले छिमेकीको घरमा कोठा भाडामा लिएर बसेका छन् । उनी भन्छन्–‘ हुदाँखादाँको घर एक्कासी बस्न नहुने अवस्थामा पुग्यो, झिक्न मिल्ने सामान झिक्यौं, अनि छिमेकी कहाँ बस्न बाध्य भयौ ।’ धितालको परिवारमा श्रीमती र एक छोरा गरी ३ जना छन् ।

टुसाल डाँडा चट्टाले बनेको जस्तो देखिन्छ । पहिरो प्रभावित धिताल भन्छन्– नाग मारेर यस्तो भएको हो कि ? दैवी प्रकोपले हो, थाहा छैन ।

स्थानीय चित्रबहादुर बस्नेत ७० बर्षको उमेरमा एउटा अचम्म देख्नु परेको बताउँछन् । बस्नेतका अनुसार– ‘पहिरोको कुनै कारण छैन, केही शंका मात्र पाएको भए यस्तो ठाउँमा घर नै बन्दैन थिए, यतिका उमेर काटियो अहिले यस्तो अवस्था देख्न पर्यो ।’

बस्नेतले प्लटिङका कारण गर्दा यस्तो भएको हुनसक्ने अनुमान लगाए । उनको ८ जनाको परिवार बिस्थापित भएर हाल त्यही नजिकैको एक मानेघरमा बसेको छ ।

दिनमा भोक र रातमा निन्द्रा हराएको भन्दै उनले बसोबासको सहयोगको याचना गरे ।

यसरी नै सुमन सुनुवारको १ तल्ले घरपनि पूर्णरुपमा पहिरोले क्षति पुर्याएको छ ।सुनुवारको परिवारमा १० सदस्य रहेका छन् ।

गल्फुटारबाट बसाई सरेर टुसाल डाडाँमा पुगेका विष्णु श्रेष्ठपनि पहिरोले जोखिम बढेपछि कोठाको खोजीमा छन् । यस्तै स्थानीय तारा पाण्डेले आफ्नो घर बन्दै गरेको बताइन्, सुख्खा पहिरो गएको डाडाँको नजिकै पाण्डेको घर निर्माणधीन अवस्थमा रहेको छ । टुसाल डाँडामा पहिरो जान थालेपछि उनीलाई चिन्ताले सताएको छ ।


क्लिकमान्डु