काठमाण्डौमा प्राबिधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला हुँदै



काठमाण्डौ । सामाजिक आर्थिक विकासका लागि प्राबिधिक तथा व्यवसायिक शिक्षा सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला यही असोज १८ र १९ गते काठमाण्डौमा हुने भएको छ ।

डिप्लोमा इञ्जिनियरिङ एशोसियशन नेपाल(डीन), कोलोम्बो प्लान स्टाफ कलेज(सीपीएससी) र सीटीइभीटीको संयुक्त आयोजनामा कार्यशाला हुन लागेको हो ।

नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र सार्क डिप्लोमा इञ्जिनियर्स फोरमको सहकार्यमा हुन लागेको सो कार्यशाला गोष्ठीको तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

डीनका अध्यक्ष कामेश्वरप्रसाद सिंहको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा प्राविधिक तथा व्यवसायिक शिक्षाका क्षेत्रमा भइरहेका गतिविधिका बारेमा छलफल गर्न तथा अनुभव आदानप्रदान गर्ने उद्देश्यले कार्यशाला आयोजना गरिएको बताइयो ।

पत्रकार सम्मेलनमा अध्यक्ष सिंहले भने–प्राविधिक जनशक्ति उत्पादन, विकास र विकास निर्माणको शैलीप्रति जागरुकता फैलाउन कार्यशाला उपलब्धीमूलक हुनेछ ।

सरकारले लिएको समृद्ध नेपाल र सुखी नेपाली भन्ने नारालाई साकार पार्न आगामी ५ वर्ष भित्र गुणस्तरीय ५ लाख जनशक्ति उत्पादन गर्ने लक्ष्यलाई समे योगदान हुने विश्वास लिएका छौं–अध्यक्ष सिंहले भने ।

अन्तर्राष्ट्रिय कार्यशालामा २० मुलुकका ५० जना विज्ञ र ५ सय जनाको सहभागिता रहने डीनका महासचिव जीवन घिमिरेले बताए । कार्यशालामा प्राविधिक तथा व्यवसायिक शिक्षा विषयमा २० देशको अनुभव आदान प्रदान सहित २५ वटा कार्यपत्र प्रस्तुति सहित छलफल हुनेछ । कार्यशालाबाट आउने निचोडलाई समेटेर घोषणा पत्र समेत जारी गरिने महासचिव घिमिरेले जानकारी दिए ।

होटल याक एण्ड यतिमा हुने सो कार्यशालाको उद्घाटन कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेलले गर्नेछन् भने समापन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले गर्ने कार्यक्रम तय भएको छ ।

कार्यशाला स्थलमा १० वटा स्टल मार्फत इञ्जिनियरिङ तथा निर्माण क्षेत्रका गतिवित्रि जानकारी गराउने व्यवस्था गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो कार्यशालको सहयोगीका रुपमा आइएलओ, यूएनडीपी, नेपाल निर्माण व्यवसायी संघ, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्स रहेका छन् । कार्यक्रमको मुख्य प्रायोजिक पशुपति आइरन एण्ड स्टिल प्रालि र मानश्री ट्रेडिङ प्रालि भोल्भो रहेको डीनले जनाएको छ ।

पत्रकार सम्मेलनमा सीटीइभीटीका प्राविधिक विभागका निर्देशक टेकबहादुर मल्ल, फोरम फर हेल्थ एण्ड टेक्निकल साइन्सका अध्यक्ष कश्यप पौडेल डीनका सल्लाहकार प्रा.डा. मुरलीगोपाल रञ्जितकार, डीनका अर्का सल्लाहकार राजेन्द्र प्रसाद अधिकारी र नेपाल निर्माण व्यवसायी संघका नवनिर्वाचित अध्यक्ष रवि सिंहको उपस्थिति रहेको थियो ।


क्लिकमान्डु