शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालनमा आउँदै, कुन सामानमा कति छुट ?



काठमाडौं । सरकारले असोज १२ गतेदेखि सञ्चालन गर्न लागेको सुपथ मूल्य पसलमा १० देखि ३० रुपैयाँसम्म छुट दिइने भएको छ ।

सुपथ मूल्य पसल ३६ स्थानमा सञ्चालन हुने भएको छ । दशैदेखि छटसम्मका लागि सञ्चालन हुने सबै सुपथ मूलय पसल उपत्यका भित्र १२ स्थानमा र उपत्यका बाहिर २४ स्थानमा सञ्चालनमा ल्याइने छ ।

सुपथ मूल्य पसल मार्फत बिक्री वितरण हुने चिनीमा प्रति केजी ५ रुपैयाँ, सहकारी उद्योगले उत्पादन गर्ने मसलामा प्रति केजी १० रुपैयाँ र आयातित खाने तेलमा प्रतिलिटर ३० रुपैयाँ छुट दिइने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जानएको छ ।

यस्तै, नेपालमै उत्पादन हुने तेल, घिउ उद्योगहरुले प्रति लिटर ३ रुपैयाँ मात्र छुट दिने भएका छन् । साथै थोक तथा खुद्रा विक्रेताहरुले निजी क्षेत्रद्धारा उत्पादित दाल, चामलमा प्रतिकेजी ३ रुपैयाँ छुट दिने निर्णय भएको विभागले जानकारी दिएको छ ।

नेपाल खाद्य संस्थानले भने सोना मन्सुली चामल ४० रुपैयाँ प्रतिकेजी, जीरा मसिनो चामल ५५ रुपैयाँ प्रतिकेजी, वास्मती चामल ८१ रुपैयाँ प्रतिकेजी, गोरखनाथ चामल ३८ रुपैयाँ प्रतिकेजी, जापानीज चामल ७० र ७५ रुपैयाँ प्रतिकेजी, जुम्ली सिमी १ सय २० रुपैयाँ प्रतिकेजी र जुम्ली फापर ७० रुपैयाँ प्रतिकेजीमा उपलब्ध गराउने भएको छ ।

साल्ट ट्रेडिङ कर्पोरेशनले नुन १८ रुपैयाँ प्रतिकेजीमा विक्री गर्ने भएको छ । यस्तै खसीबोका र चिनीको मूल्य निर्धारण भइसकको छैन । दुग्ध विकास संस्थानले घिउ ८ सय ५० रुपैयाँ प्रतिकेजी र पनिर ६ सय १० रुपैयाँ प्रतिकेजीमा विक्री वितरण गर्ने भएको छ ।

यो पटक दशँैतिहार तथा छटसम्म सञ्चालन हुने सुपथ मूल्य पसलमा सहकारी तथा निजी क्षेत्रलाई पनि सहभागी गराई विभिन्न छुटको व्यवस्था गरिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।


क्लिकमान्डु