सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, यस्ता छन् आकर्षण



काठमाडौं । छैठौं संस्करणको फर्निचर तथा फर्निसिङ एक्स्पो ‘फर्नेक्स’ सुरु भएको छ । जेम फ्लोरिगंको प्रस्तुती तथा नेपाल फर्निचर तथा फर्निसिङ संघको आयोजनामा भृकुटीमण्डपमा फर्नेक्स सुरु भएको हो ।

फर्नेक्सको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले फर्निचर जन्य उत्पादनमा मुलुक आत्मनिर्भर हुन खोजेपनि राज्यबाट सहयोग नपाएको बताए ।

नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष भुपेन्द्र गिरीले मुलुकलाई फर्निचर जन्य उत्पादनमा आत्मनिर्भर बनाउन स्वदेशमा खेर गईरहेको कच्चापदार्थको सदुपयोग गर्न बाटो खोलिदन आग्रह गरेका थिए ।

एक्स्पोको आयोजक संस्था नेपाल फर्निचर तथा फर्निसिङ संघका अध्यक्ष राजेशकुमार अग्रवालले नेपालमै अन्तर्राष्ट्रिय स्तरको उत्पादन तयार गर्न सकिने बताउँदै स्वदेशी उत्पादनको प्रयोग गर्न आम उपभोक्तालाई आग्रह गरे ।

राज्यको असहयोगका कारण फर्निसिङ क्षेत्रको अपेक्षित विकास हुन नसकेको अग्रवालले आरोप लगाए ।

५ दिनसम्म चल्ने एक्स्पोमा ख्यातिप्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरुको वृहत प्रदर्शनी हुनेछ । उक्त अवसरमा नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लियरेन्सका साथै दशैँ अफर र फर्निचर तथा फर्निसिङका सामानहरु विक्रि वितरण हुनेछ ।

एक्सपोमा प्रदर्शनीको अतिरिक्त अवोलकनकर्ताहरुलाई लक्की ड्र मार्फत आर्कषक उपहार समेत वितरण गरिने छ । त्यस्तै प्रदर्शनी स्थलमै वास्तु शास्त्रका साथै इण्टेरियर डिजाइन सम्बन्धी परामर्श समेत लिन पाइनेछ । रोबटिक प्रतिस्पर्धा पनि एक्सपोको अर्को आर्कषण हुने आयोजकले जानकारी गराएको छ । विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने इभेण्ट सोलुसनले जनाएको छ ।

फर्नेक्स २०१८को टाइटल स्पोन्सर जेम फ्लोरिङ रहेको छ । एक्स्पोको मुख्य प्रायोजक सिमल डेकोर, यती फ्लोरिगं, ग्लेनर डिलाइट रहेका छन् । एक्स्पोको छैठौं संस्करणको व्यवस्थापक इभेण्ट सोलुसन प्रालि रहेको छ भने यो एक्स्पोलाई नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले प्रवद्र्धन गरेका छन् ।

किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बल लगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहने छन् । यसैगरी कार्पेट, पर्दा, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षणका रुपमा रहेका छन् ।

८ गतेसम्म चल्ने एक्स्पोमा स्वदेशी तथा विदेशी गरी १ सय बढी फर्निचर र फर्निसिङ सामग्रीका स्टलमा फर्निचर जन्य उत्पादनको बृहत प्रदर्शनी हुनेछ । नेपालमा उपलब्ध फर्निचर तथा फर्निसिङका उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्यले विगत सन् २०१२ देखि नियमित रुपमा एक्स्पो आयोजना हुँदै आएको छ ।


क्लिकमान्डु