ग्राहकलाई माया गर्न माछापुच्छ्रे बैंकले यसरी जन्मायो आर्टिफिसियल इन्टलिजेन्स ‘माया’



काठमाडौं । माछापुच्छ्रे बैंकको उच्च व्यवस्थापन ‘बिजनेशका हिसाबले एक किसिमको ग्रोथ गरियो, सस्टेनेबल पनि भइयो । तर, अरु बैंकभन्दा फरक भएर कसरी आफ्नो पहिचान स्थापित गर्ने ?’ भन्ने खोजीमा थियो ।

सूचना प्रविधिको अधिकतम प्रयोग गरेर बढीभन्दा बढी ग्राहक आकर्षित गर्ने र माछापुच्छ्रे बैंक भन्ने वित्तिकै नयाँ पहिचान स्थापित गर्ने कसरतमा जुट्यो माछापुच्छ्रे टिम ।

वर्षदिन अघिको कुरा हो यो ।

बैंकको डिजिटल बैंकिङका चिफ नारायण प्रसाद कोजुकाको नेतृत्वमा सूचना प्रविधि विभागका कर्मचारीहरु पटक–पटक छलफलमा बसे ।
सामाजिक सञ्जाल फेसबुकको लोकप्रियता अत्याधिक छ । लाखौं नेपालीले फेसबुक प्रयोग गर्छन् । त्यसैले फेसबुककै माध्यममार्फत् ग्राहकसँग जोडिने प्रोडक्ट ल्याउनेमा सबै एकमत भए ।

तर, कसरी र कस्तो प्रोडक्ट ल्याउने ? यो विषयमा भने निकैपटक छलफल भयो । अरु बैंकहरुले पनि फेसबुक म्यासेञ्जरमार्फत् ग्राहकसँग जोडिने प्रोडक्ट ल्याइसकेका थिए ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला भन्छन्, ‘ग्राहकहरु हामीलाई माया गर्नुहुन्छ, हामी पनि ग्राहकलाई माया गरेर सेवा दिन्छौं’ भन्ने कुरा स्थापित गराउने उदेश्यले आर्टिफिसियल इन्टलीजेन्सको नाम माया राखिएको हो ।’

कुनैपनि व्यक्तिले बैंकको म्यासेञ्जरमा गएर आवश्यक कुरा सोधेर जानकारी लिने प्रोडक्ट त करिब सबै बैंकले ल्याएकै छन् ।

तर, बैंकहरुसँग फेसबुक म्यासेञ्जरमा ग्राहकले सोधेको जिज्ञासाको जवाफ भने कार्यालय समयमा एक/डेढ घन्टापछि मात्रै दिने प्रोडक्ट थियो । किनभने त्यहाँ मान्छेहरु नै खटिएका हुन्छन् । कार्यालय समय नभएको अवस्थामा भगरिएको प्रश्नको उत्तर कार्यालय खोलेपछि मात्रै दिइन्थ्यो ।

कसरी ग्राहकले सोधेको २/४ सेकेन्डमै अर्थात् लाइभ च्याट गरेजसरी जवाफ दिन सकिन्छ भनेर पटकपटक छलफल गरेपछि निस्कियो आर्टिफिसियल इन्टलिजेन्सको कन्सेप्ट ।

यो कन्सेप्ट नेपालका लागि विशुद्ध नौलो थियो । विकसित देशमा भने यसको प्रयोग अत्याधिक भएको पाइन्छ । अर्थात् ग्राहकको प्रश्नको जवाफ मान्छेहरुले नभई आर्टिफिसियल इन्टलिजेन्सले दिन्छ । त्यसैले तपाईंले रातिको १२/१ बजे प्रश्न राख्नुभयो भने पनि मायाले तुरुन्तै जवाफ फर्काइहाल्छ ।

त्यो आर्टिफिसियल इन्टलिजेन्स मायालाई बैंकका कर्मचारीहरुले ट्रेन मात्रै गर्छन् ।

आर्टिफिसियल इन्टलिजेन्सलाई कसरी नेपालीसँग जोड्ने अर्थात् के नाम राख्ने भन्ने विषयमा पनि छलफल भयो । सरस्वती, रुक्मिनी, लक्ष्मी, माया विभिन्न नामहरु आए ।

यी नामहरुको विषयमा पनि धेरै छलफल भयो । र, अन्त्यमा माया राख्ने निधो भयो ।

आर्टिफिसियल इन्टलिजेन्सको नाम किन माया राखियो ? बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला भन्छन्, ‘ग्राहकहरु हामीलाई माया गर्नुहुन्छ, हामी पनि ग्राहकलाई माया गरेर सेवा दिन्छौं’ भन्ने कुरा स्थापित गराउने उदेश्यले आर्टिफिसियल इन्टलीजेन्सको नाम माया राखिएको हो ।’

माछापुच्छ्रे बैंकले बैकिङ क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स ‘माया’को सुरुवात गरेर नयाँ प्रोडक्ट भित्र्याएको कोइराला बताउँछन् ।

‘नेपालका लागि यो अत्यन्तै नौलो प्रोडक्ट हो, तर प्रोडक्ट लन्च भएको १५ दिनमा एउटा बाहेक सबै प्रतिक्रिया सकारात्मक आएको छ,’ डेपुटी सीइओ कोइरालाले क्लिकमाण्डूसँग भने, ‘यसले हामीलाई निकै धेरै उत्साहित बनाएको छ ।’

अबको युग डिजिटल युग भएकाले सूचना प्रविधिको अधिकतम प्रयोग गरेर बैंक अघि बढेको उनको भनाइ छ ।

‘अब ढड्डा पल्टाउने दिन गए, सबै कुरा डिजिटलाइज्ड भइसक्यो,’ उनले भने, ‘प्रविधिमैत्री भएर ग्राहकलाई सेवा दिन नसक्नेहरु पछि पर्छन् भन्ने निष्कर्शसहित माया जन्माएका हौं ।’

अहिले सामान्य जानकारी दिए पनि पछि खाता खोल्ने सम्मको व्यवस्था मायाबाट गर्ने कोइरालाले सुनाए ।

आर्टिफिसियल इन्टलीजेन्सको साच थियो डिजिटल बैंकिङका चिप नारायण प्रसाद कोजुको । यो सोचलाई मूर्तरुप दिन बैंकका आइटी विभागका प्रमुख हेमकुमार श्रेष्ठ बैंकको टोली खट्यो ।

एकवर्ष अगाडिको सोचलाई ३ महिना कडा मिहेनत गरेपछि मायाको शुुरुवात भयो ।

बैंकका आइटी चिफ श्रेष्ठका अनुसार विश्वमा ग्राहकसँग अन्तक्र्रिया गर्नुपर्ने एआईको नाम महिलाको बाट हुने गरेको र आफूहरुले नेपालीमा धेरै नाम सोच्दा सोच्दा अन्तिममा सबैलाई छुने माया नाम राखिएको बताउँछन् ।

नेपाल इन्जिनियरिङ कलेजबाट सूचना प्रविधिमा इन्जिनियरिङ ह्वाइट हाउसबाट एमबिए गरेका श्रेष्ठले साउदी अरबमा साउदी अमेरिकी बैंकमा काम गर्दा देखेको र लिएको अनुभव मायामा लगाएका थिए ।

‘बैंकहरु सबैले निक्षेप लिएको हुन्छ ऋण दिएको हुन्छ, हामी ग्राहकलाई माया गर्छौ । र, ग्राहकले पनि हामीलाई माया गर्छन् त्यसको लागि माया बनाएका हौं,’ श्रेष्ठ सुनाउँछन् ।

ग्राहकले मायासँग कुराकानी गर्नको लागि माछापुच्छ्रे बैंकको फेसबुक पेजमा गएर म्यासेन्जरमार्फत मायालाई प्रश्न सोध्न सक्नेछन् । ग्राहकले प्रश्न सोध्नेवित्तिकै जुनसुकै समय भएपनि मायाले तत्काल जवाफ फर्काइहाल्छ । यसले बैंक र ग्राहकबीच मायामार्फत् जुनसुकै समय पनि अन्तक्र्रिया हुनसक्छ ।

‘अहिले माछापुच्छ्रे ग्राहक नभएका व्यक्तिले खाता खोल्ने जानकारी तथा ऋणको जानकारी लिन सकिन्छ,’ श्रेष्ठले सुनाए, ‘बैंकका ग्राहकले आफनो खातामा भएको मौज्जातको जानकारी मायाबाट लिन सक्छन् ।’

च्याटबर्ड फिचरमार्फत मायाले ग्राहकले सोधेको उत्तर दिने व्यवस्था मिलाइएको छ ।

‘माया एउटा मेसिन हो, हामीले हरेक दिन मायालाई तालिम दिएर अपग्रेड गरिराखेका छौ,’ श्रेष्ठले भने ।

यो सुरुवात भएको १५ दिनमा मध्यपूर्व र दक्षिण कोरियामा काम गर्न गएका नेपालीले बैंक खाता खोल्ने विषयमा धेरैवटा प्रश्न गरेको अनुभव श्रेष्ठसँग छ ।

फेसबुकका प्रायोगकर्ताहरु बढेसँगै कुनैपनि बस्तु तथा सेवाको बिक्रीको लागि फेसबुक अनिवार्य जस्तै छ । माछापुच्छ्रे बैंकले पनि ग्राहकसँग फेसबुक म्यासेञ्चरमा २४सै घन्टा अन्तर्क्रिया गर्नसक्ने माया नामको आर्टिफिसियल इन्टलिजेन्स ल्याएको हो ।

डेपुटी सीइओ कोइराला निर्धक्कसँग भन्छन्- ‘हामी ग्राहकलाई माया गर्छौं भन्ने पहिचान स्थापित हुनेछ । मायाले माछापुच्छ्रे बैंकलाई नयाँ उचाइमा पुर्याउनेमा कुनै शंका छैन ।’


पुष्प दुलाल