उद्योगी शशिकान्तले किनेपछि एनआईसी एशियाको सेयरमूल्य बढ्यो, भन्छन् -म खेलाडी होइन



काठमाडौं । एक महिनाअघि एनआईसी एशिया बैंकको सेयर मूल्य दोस्रो बजारमा प्रतिकित्ता ३ सय २२ रुपैयाँ थियो ।

भदौ महिनाको अन्तिम दिन आज बजार बन्द हुँदा एनआईसी एशियाको सेयरमूल्य प्रतिकित्ता ४ सय ८ रुपैयाँ छ । अन्तिम दिन एनआईसीको सेयरमूल्य ५ रुपैयाँले घटेको छ ।

भदौ महिनामा मात्र एनआईसी एशियाको सेयर मूल्य २६ प्रतिशत बढेको छ । यसको सेयर मूल्य एक वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।

एक वर्ष अगाडिको तुलनामा अधिकाशं बैंकको सेयर मूल्य अहिले कम भएपनि एनआईसी एशियाको सेयरमूल्य मात्र बढेको देखिन्छ । पछिल्लो एक महिनामा वाणिज्य बैंकहरुमा सबैभन्दा बढी सेयर मूल्य बढेको एनआईसी एशिया बैंकको हो ।

‘सेयर बजारमा म ठूलो खेलाडी होइन, मेरो फोकस उद्योगमा हो, ठूलो खेलाडी भयो भन्ने कुरा हल्ला मात्र हो,’ अग्रवालले प्रष्ट पारे ।

एनआईसी एशिया बैंकको दोस्रो बजारमा उद्योगी शशिकान्त अग्रवालले सेयर उठाएका छन् । सेयर बजारमा अग्रवालले एनआईसीको ठूलो परिणाममा सेयर खरिद गरेको हल्ला छ ।

उद्योगी अग्रवालले आफुले नेपाल लाइफको संस्थापक सेयर साधारणमा परिणत भएपछि सो सेयर बिक्री गरेर आएको रकमबाट एनआईसी एशिया बैंकको सेयर किनेको गरेको बताए ।

‘नेपाल लाइफको सेयर बिक्री गरेर आएको पैसाबाट सेयर किन्न खोजेको थिए, सेयर ब्रोक्ररले एनआईसीको किन्न सुझाव दिएपछि एनआइसी एशियाको सेयर किनेको हुँ,’ अग्रवालले क्लिकमाण्डूसँग भने ।

आफुले ६० देखि ७० हजार कित्तासम्म सेयर किनेको बताए । जुन रकममा भने अढाई करोड रुपैयाँ भन्दा केही बढी पर्न आउँछ ।

‘म र मेरो परिवार दोस्रो बजारमा ठूलो सेयर खरिद गर्ने खालको होइन, केही बैंक तथा बीमा कम्पनीमा संस्थापक सेयर छ,’ अग्रवालले थपे, ‘एनआइसी एशिया बैंकको दोस्रो बजारको सेयरमा मैले दुई/अढाई करोड रुपैयाँजति लगानी गरेको हुँ ।’

बैंकले ब्रोकरले एनआइसी एशियाको सेयर किन्ता फाइदा हुने बताएकाले आफूले किनेको अग्रवालले बताए ।

त्यसो त एनआइसी एशियाले गत आर्थिक वर्षदेखि एग्रेसिभ तरिकाले अघि बढेको छ । बैंकको १९ वर्षको इतिहासमा नगरेको प्रगति एक वर्षमै गरेको छ । निक्षेप र कर्जा लगायतका विभिन्न सूचकहरुमा बैंक एक नम्बरमा परिसकेको छ ।

अग्रवालले आफुसँग ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट, प्रभु बैंक, कुमारी तथा शिखर इन्स्योरेन्सको संस्थापक सेयर रहेको बताए । एनआईसीमा संस्थापक सेयर नरहेको उनले जानकारी दिए ।

‘उद्योगीले धेरै ठाउँमा संस्थापक सेयर लिएर फाइदा छैन, आफू संस्थापक रहेको बैंकबाट ऋण पाइने व्यवस्था छैन,’ अग्रवालले भने ।

सेयर बजारमा अग्रवालले एनआईसी सेयर उठाएको कारण मूल्य बढेको मान्नेहरु छन् । तर, अग्रवाल भने आफुलाई दोस्रो बजारमा आउने उतारचढावसँग सरोकार नहुँने भन्दै सेयर बजारमा लगानी गरेर हरेक दिन हिसाब गर्दै फाइदा लिने नभएको बताउँछन् ।

‘सेयर बजारमा म ठूलो खेलाडी होइन, मेरो फोकस उद्योगमा हो, ठूलो खेलाडी भयो भन्ने कुरा हल्ला मात्र हो,’ अग्रवालले प्रष्ट पारे ।

सेयर बजारमा साइलेन्स रुपमा रहेर ठूलो लगानी गरेको मान्नेहरु धेरै छन् । सेयर बजारसँगै राष्ट्र बैंकले निकाल्ने ऋणपत्रमा समेत शशिकान्तले ठूलो रकम लगानी गरेको हल्ला हुन्छ ।

तर, शशिकान्त अग्रवाल भने आफुले अहिलेसम्म सरकारी ऋणपत्र कस्तो हुन्छ भनेर समेत नदेखेको बताउँछन् ।

‘मसँगै मेरो परिवारको नाममा पनि सरकारी ऋणपत्र छैन, बैंकबाट १० प्रतिशत ब्याजदरमा ऋण लिनुपर्छ कसैले ८ प्रतिशत आउने ऋणपत्रमा लगानी गर्दैन,’ अग्रवालले क्लिकमाण्डूसँगको कुराकानीमा भने ।


पुष्प दुलाल