६५ हजारले अवलोकन गरे नाडा अटो शो, १००० गाडी र १६०० मोटरसाइकल बुकिङ



काठमाडौं । नाडा अटो शो– २०१८ सम्पन्न भएको छ । गत मंगलबारदेखि आज (आइतबार) सम्म सञ्चालन भएको अटो शो ६५ हजार जनाले अवलोकन गरेका छन् ।

‘६५ हजार अवलोकनकर्ताले अटो शो अबलोकन गरेका छन्,’ अटो शोका संयोजक निराकार श्रेष्ठले क्लिकमाण्डूसँग भने, ‘यो वर्ष हामीले बुकिङ संख्या र रकम भने सार्वजानिक गरेनौं । अटो शोलाई ब्राण्डिङमा मात्रै केन्द्रित गर्ने नीति अवलम्बन गर्यौं ।’

आयोजकले बुकिङ संख्या र कारोबार रकम सार्वजानिक नगरे पनि आफ्नो प्रयोजनका लागि संकलन भने गरेको थियो ।

नाडा उपाध्यक्ष कृष्ण दुलालका अनुसार मेलामा ५ अर्ब रुपैयाँभन्दा बढीको कारोबार भएको छ, जुन आयोजकको लक्ष्य अनुसार नै हो ।

‘मेला अवधिभर १००० गाडी र १६०० मोटरसाइकल बुकिङ भएका छन्,’ उपाध्यक्ष दुलालले भने, ‘मेला सफल भएको छ ।’

हरेक वर्ष दशैंअघि नाडा अटो शो हुने गरेको छ । गत वर्षको अटो मेलामा साढे ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको थियो भने ६२ हजारले मेला अवलोकन गरेका थिए ।


पुष्प दुलाल