‘हत्यारा नेपाल फर्क’भन्दै बाबुराम भट्टराईलाई अमेरिकामा कालोझण्डा देखाइयो (भिडियोसहित)



बाल्टिमोर । करिब १ महिना लामो अमेरिका भ्रमणको लागि अमेरिका आइपुगेका नयाँ शक्ति पार्टीका संयोजक तथा पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई अमेरिकाको टेक्सासमा कालो भण्डा देखाइएको छ ।

बुधबार अमेरिको वासिंटन डिसी आइपुगेका भट्टराई नेपाली समुदायसँगको छलफलको लागि शनिबार टेक्सास पुगेका थिए । त्यहाँ उनलाई द्वन्द्व पिडित नेपालीहरुले कालो भण्डा देखाउँदै नाराबाजी गरेका हुन् ।

भट्टराईलाई ‘हत्यारा नेपाल फर्क’ जस्ता नारा लगाएर विरोध गरिएको थियो । डा.भट्टराईलाई टेक्सासको एक नेपालीको समुहले फुजेल काण्ड मुक्तिनाथ हत्यालगायात १७ हजारभन्दा धेरै नेपालीहरुको ज्यान लिने जनयुद्धको नेतृत्व गरेको र नेपालमा आतंकवादी गतिविधिको नेतृत्वको गरेको भन्दै कालो झण्डा र नाराबाजीसहित बिरोध प्रदर्शन गरेको हो ।

भट्टराई पत्नी तथा नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीको साथमा अमेरिका आएका थिए । कुनै समुहले नेतृत्व नगरेको प्रदर्शनकारी स्वतःफुर्त रुपमा आएका माओवादी पिडितहरु रहेको बताईएको छ ।

जनयुद्धको समयमा माओवादीबाट पिडित भएका तथा अमेरिकामा राजनीतिक शरण लिएकाहरु विरोधमा सहभागी थिए । उनीहरुले कालो भण्डा र हातमा प्ले कार्ड लिएर भट्टराईको विरोध गरेका थिए ।

यसैबीच शनिबार नै एक संस्थाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै डा भट्टराईले शसस्त्र द्वन्द्वको समयमा बलिदानीको १७ हजार नेपालीको ज्यान गएको भन्दै त्यो घटना कसैले चाहेर नभएको जिकिर गरे ।

‘युद्धमा यस्ता घटना हुन्छ अब त्यस घाउलाई कोट्याउने भन्दा मलमपट्टी लगाउने समय हो’ उनले भने ।

भट्टराईपत्नी हिसिला यमीले संसारमा युद्धले विकास जन्माएको उल्लेख गर्दै अब सकारात्मक सोच राख्नुपर्ने जिकिर गरिन् । डा. भट्टराईले अमेरिकाका बिभिन्न राज्यमा रहेका नेपाली समुदायसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताईएको छ । उनले टेक्सासको कार्यक्रम सकेर मिनेसोटा, क्यालिफोर्निया, न्यूयोर्क र बोस्टनमा रहेका नेपालीसंग भेटघाट गर्ने कार्याक्रम रहेको छ ।


पुष्प दुलाल