मुख्यमन्त्री पौडेलले भने– कारागारमा चाहिने सामान सोझै खरिद गर्नु



हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आज मकवानपुरको भीमफेदीमा रहेको कारागारको निरीक्षण गरेका छन् । कारागार पुगेर मुख्यमन्त्री पौडेलले कारागारको अवस्थाका बारेमापनि जानकारी लिएका थिए ।

सो अवसरमा कारागारमा देखिएका समस्याहरुको निराकरण गरिने मुख्यमन्त्री पौडेलले बताए । बिचौलियाका कारण कारागारभित्र समस्या देखिएको भन्दै मुख्यमन्त्री पौडेलले यसको समाधानका लागि कारागारबाट सोझै सामान खरीद गर्ने व्यवस्था मिलाउन कारागार प्रशासनलाई निर्देशन समेत दिए ।

यसैगरी कारागारमा विद्यालयको स्थापनाका लागि प्रदेश सरकारले एक जना शिक्षकलाई तलब समेत व्यवस्था गर्ने बताए । कारागारमा स्थानीय उत्पादन खपत गराउने वाताबरण निर्माण गरिने उनको भनाई छ ।

कारागारमा कैदिबन्दी जीवन विताईरहेका व्यक्तिहरुलाई उत्पादनमा लगाउने पनि उनले बताए । यस्तै कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले असोज १ गते देखि कारागार प्रदेशको मातहातमा आउने तयारी भईरहेको जानकारी दिए । भीमफेदी कारागारलाई प्रदेश स्तरीय बनाउन लागेको समेत उनको भनाई थियो ।

कार्यक्रममा जेलको ख ब्लकका चौकीदार दिपेन्द्र राई र क ब्लकका चौकीदार डानियल लामाले शौचालयको सेफ्टिी ट्याङकी, औषधी उपचार तथा अन्य विरामीहरुको सेवाका लागि समस्या भएको बताएका थिए ।

निरीक्षणका क्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, ३ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक दीपक थापा, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, ३ नम्बर प्रदेश सांसद जुनेली श्रेष्ठ, भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्बती राना, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बुद्धिराज गुरुङलगायत टोलीमा सहभागी थिए ।


क्लिकमान्डु