मकालु यातायातले शुरु गर्यो अनलाइन टिकेटिङ सेवा



काठमाण्डौ । मकालु यातायातले अबदेखि अनलाइनबाट टिकट काट्न सकिने व्यवस्था गरेको छ । माउन्ट मकालु यातायात प्रालिले बससेवा डटकमसँग सहकार्य गरी अनलाइन टिकट सेवा शुरु गरेको हो ।

अनलाइन टिकट सेवासँगै अबदेखि पूर्वी नेपालका भद्रपुर, काकरभिट्टा, बुधबारे, ताप्लेजुङ, विराटनगर र जनकपुर लगायतका क्षेत्रमा अनलाइनबाटै टिकट काटेर यात्रा गर्न सकिने छ ।

काठमाण्डौमा आज एक कार्यक्रमका बीच अनलाइन टिकटिङ सेवाको औपचारिक शुरुवात भएको छ । माउन्ट मकालु यातायात प्रालिका अध्यक्ष तुलसीमान सिंहको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा अध्यक्ष सिंहले यातायात क्षेत्रलाई प्रबिधि मैत्री बनाई यात्रुहरुलाई सहज होस् भन्ने उद्देश्यले अनलाइन टिकटिङ सेवा शुरु गरेको बताउनु भयो । त्यसैगरी बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पीआर खनालले यातायात क्षेत्रलाई डिजिटलाइज बनाउन विगत ४ वर्षदेखि बससेवा डटकम स्थापना गरेको बताए ।

यात्रुहरुले माउन्ट मकालु यातायातको आधिकारिक वेभसाइट माउन्टमकालु डटकमडटएनपी अथवा बससेवाको वेभसाइट बससेवा डट कम तथा बससेवाको मोवाइल एप्सबाट सिधै टिकट काट्न सक्नेछन् ।

यसैगरी, इसेवाको वेभसाइट तथा मोबाइल एप्लिकेशनबाट समेत टिकट काट्न सकिनेछ । इसेवाको एकाउन्ट नभएका यात्रुले आफ्नो टोल छिमेकमा रहेका इसेवाका जोन तथा पोइन्टबाट टिकट काट्न सक्नेछन् ।

साथै निकट भविश्यमा आइएमई पे, प्रभु तथा एनआइसी एसिया बैंक मार्फतपनि टिकट काट्ने व्यवस्था गरिने अध्यक्ष सिंहले बताए ।

अनलाइन टिकेटिङ सेवाको औपचारिक सुरुवातको अवसरमा माउन्ट मकालु यातायात प्रालिले अनलाइन टिकटमा १० प्रतिशत क्यास ब्याक योजनाको घाषणा पनि गरेको छ । यो योजना असोज ५ गतेसम्म जारी रहेने जनाइएको छ ।


क्लिकमान्डु