समितिका बस मंसिर मसान्तसम्म चल्न पाउने, भदौ २४ देखि दशैंको अग्रिम टिकट बुकिङ




काठमाडौं । मंसिर मसान्तसम्मका लागि समितिका गाडीहरु पनि गुड्न पाउने भएका छन् । यातायात ब्यवस्था विभाग र ब्यवसायीबीच भएको छलफलले मंसिर मसान्तसम्म समितिका बस पनि चलाउन दिने निर्णय गरेको हो ।

दशैमा यात्रुको चाप अत्याधिक हुने र कम्पनीमा आएका गाडीले मात्र यात्रुको क्षमता ढान्न नसक्ने भएकाले समितिका गाडीहरु मंसिर मसान्तसम्म चलाउन दिन लागिएको हो ।

विभागका सूचना अधिकारी गोकर्ण प्रसाद उपाध्यायका अनुसार दशैमा यात्रुका सुविधालाई ध्यानमा राख्दै समितिका गाडी समेत सञ्चालनमा ल्याउन लागिएको हो ।

‘हामीले समितिलाई सक्दो छिटो कम्पनीमा आउन आग्रह गरेका छौँ, धेरै समितिहरु कम्पनीमा जाने क्रममा छन्, कम्पनीमा नआएसम्म दशैका लागि समितिका गाडी पनि गुड्ने छन्,’ उपाध्यायले भने ।

दशैका अवधिमा काठमाडौंमा चल्ने गाडीहरु पनि खुल्ला गरिने उनको भनाइ छ ।

छलफलमा कम्पनीमा नआएका गाडीहरुलाई अग्रिम बुकिङ दिनेकी नदिने, सिटभन्दा बढी यात्रु राखेर सवारी चलाउन नदिने, दशैका लागि भनेर टिकट बुकिङ भदौ २४ गतेदेखि खुलाउने लगायतका विषयमा कुरा भएको थियो ।

यातायात ब्यवस्था विभागमा भएको छलफलले दशैको लागि अग्रिम टिकट भदौ २४ गतेदेखि खुलाउने चर्चा चले पनि अहिले नै निर्णय भने भएको छैन । विभाग र ब्यवसायीबीच यसै बिषयमा भदौ २२ गते अर्काे बैठक हुने विभागले जानकारी दिउको छ ।


क्लिकमान्डु