बस ब्यवसायी समितिले दशैंमा अग्रिम टिकट खुलाउन नपाउने, ब्यवसायी र सरकार छलफलमा




काठमाडौं । समिति अन्तरगत दर्ता भएर संचालनमा रहेका सार्बजनिक बस संचालकले देशैमा अग्रिम टिकट बुकिङ खुलाउन नपाउने भएपछि अर्काे समस्या उत्पन्न भएको छ ।

सरकारले समिति अन्तरगतका ब्यवसायीलाई देशैमा अग्रिम टिकट बुकिङ खुल्ला गर्न नदिने बताएको छ भने सबै समितिहरु कम्पनीमा रुपान्तरण भइसकेका छैनन् ।

धेरै बसहरु समिति अन्तरगत रहेका र त्यस्ता समितिहरुले अग्रिम टिकट काटेर सेवा दिन नपाउने भएपछि दशैंमा हुने यात्रुको आवागमन कसरी ब्यवस्थापन गर्ने भन्ने अर्काे समस्या आइपरेको हो ।

दशैको बेलामा राजधानी काठमाडौंबाट करिब २० लाख यात्रु देशका विभिन्न स्थानमा जाने गरेका छन् । सो बेलामा यात्रुको चाप अत्याधिक हुने भएकोले सार्बजनिक बसहरुको माग बढी हुने गर्छ । तर कम्पनी अन्तरगतका बसहरु सिमित भएकोले कसरी ब्यवस्थापन गर्ने भन्ने चुनौति आइपरेको यातायात ब्यवस्था विभागका सुचना अधिकारी गोकर्ण प्रसाद उपाध्याय बताउँछन् ।

‘देशैको बेलामा राजधानीबाट बाहिरिने यात्रुको संख्या २० लाखको हाराहारीमा हुने देखिन्छ, समिति अन्तरगतका बसले अग्रिम टिकट बुकिङ खोलेर बस संचालन गर्न नपाउने ब्यवस्था छ, कम्पनी अन्तरगतका बसको संख्या कम छ, यसैकारण यो समस्या कसरी समाधान गर्ने भन्ने गृहकार्यमा लागेका छौं,’ उपाध्यायले क्लिकमाण्डूसँग भने ।

यसको लागि विभागले बुधबार ब्यवसायीलाई छलफलको लागि बोलाएको छ ।

‘हामी भोलि (बुधबार) ब्यवसायीसँग छलफल गर्दैछौं, छलफलले एउटा निकास निकाल्ला भन्ने आशा छ,’ उनले भने ।

धेरै बस भएका समितिहरु पनि कम्पनीमा परिणत हुन थालेका भने छन् । केही दिन अगाडि मात्रै पूर्वी पहाडी क्षेत्रमा बस संचालन गर्दै आएको अरनिको यातायात सेवा समिति अरनिको भिमेश्वर कम्पनीको नाममा दर्ता भइसकेको छ ।

यस्तै सोमबार मात्रै करिब ३०० बस रहेको भेरी यातायात कम्पनी दर्ता भएको छ । यसरी समिति अन्तरगतका बसहरु कम्पनीमा परिणत हुने क्रम भने बढेको छ ।

‘कम्पनीमा दर्ता हुनको लागि विभाग नै आइरहनु पर्ने समस्या छैन, यातायात कार्यालयहरुलाई पनि त्यो अधिकार दिइएको छ, दशै आउन अझै केही समय बाँकी रहेको र समितिहरु कम्पनीमा परिणत भएर आउने क्रम बढेकोले समस्या नहोला कि भन्ने हाम्रो अनुमान हो,’ सुचना अधिकारी उपाध्यायले भने ।


क्लिकमान्डु