हेटौंडामा सबै सुमोका काउन्टर अब एकै ठाउँमा



हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले सवारीका साधनहरुलाई ब्यबस्थित गर्ने काम शुरु गरेको छ ।

आजबाट हेटौंडाका सबै टाटासुमोहरुलाई चौकीटोलको रोप–वे चौरबाट संचालन गरेको छ । हेटौंडा बजार क्षेत्रमा बढ्दै गएको सवारीका चापलाई कमी गर्न र यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने बाताबरण निर्माण गर्न चौकीटोलमा रहेको रोप–वे चौरमा साझा सुमो काउन्टर खोलेर आजबाट संचालनमा ल्याइएको हो ।

साझा सुमो सेवा घरको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले एक कार्यक्रमका बीच उद्घाटन गरे । त्यहाँबाट आजदेखि औपचारिक रुपमा टाटा सुमोहरु संचालन हुन थालेका छन् । मेयर महतले आज यात्रु भरिएको सुमोपनि रिवन काटेर काठमाण्डौ पठाए ।

तीन नम्बर प्रदेशको अस्थायी राजधानी हेटौंडामा सवारीको चाप बढेपछि ट्राफिक व्यवस्थापनका लागि एकै स्थानबाट सबै यात्रुहरुले गन्तब्यमा जान सक्ने गरी संचालनमा साझा सुमो काउन्टर सञ्चालनमा ल्याइएको मेयर महतले बताए ।

मेयर महतले भने–हेटौंडा बजारमा जताततै सवारी पार्किङ गर्ने अवस्थालाई तोडेर अहिले हेटौंडाको मेनरोड, राप्तीरोड, स्कुलरोड, कान्तिलोकपथलाई नो पार्किङ बनाउनु सफल भयौ । त्यसैगरी टाटा सुमोलाई पनि एकै स्थानबाट बजार क्षेत्रबाट हटाएर चौकीटोलमा ब्यबस्थापन गरेका छौ ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलेसाझा सुमो काउन्टर सञ्चालनमा आएसंगै यात्रुहरु ठगिने, समस्यामा पर्ने र कुनुपर्ने बाध्यताबाटसबैले छुट्कारा पाउने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक बुद्धीराज गुरुङले सवारी पार्किङ ब्यबस्थापन गर्नका लागि एक भएर लागिएको बताए । कार्यक्रममा जिप समन्वय समितिका संयोजक गुन्जमान सिङले सबै टाटा सुमोहरुलाई एकै स्थानबाट संचालमा ल्याएर उपमहानगरपालिकाले अत्यन्तै राम्रो काम गरेको बताए ।

हेटौंडा १ का वडाअध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा उपमहानगरपालिकाका उपमेयर मिना लामा, हेटौंडा ११ का वडाअध्यक्ष गोकर्ण पराजुली, हेटौंडा २ का वडाअध्यक्ष हरि राउत, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई लगायतकाको सहभागिता रहेको थियो ।

मुख्य बजार क्षेत्रमा अटो र मयुरी छिर्न नदिने तयारी


हेटौंडाको मुख्य बजार क्षेत्रमा अटो र मयुरीलाई छिर्न नदिनेगरी तयारी थालिएको मेयर महतले बताए ।

अटो र मयुरीलाई हेटौंडाको सिमाचोकदेखि पिपलबोटसम्म, रापतीरोडको यती ड्रग हाउससम्म र बिशेष गरी बुद्धचोकमा आउनै नदिने गरी तयारी थालिएको उनले बताए ।

हेटौंडामा अटो, मयुरीहरु धेरै भएकाले यसको ब्यबस्थापन गर्न लागिएको मेयर महतको भनाई छ ।


क्लिकमान्डु