भदौ २६ गतेदेखि अटो शो २०१८ हुने
काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले भदौ २६ गतेदेखि अटो सो २०१८ आयोजना गर्ने भएको छ । भृकुटीमण्डपमा आयोजना हुने अटो सो भदौ ३१ गतेसम्म सञ्चालन हुने छ ।
अटो शोमा १९ वटा ब्राण्डका ४ पाङ्ग्रे तथा २० वटा ब्राण्डका २ पाङग्रे सवारी साधनहरु प्रदर्शनी तथा बिक्रीका लागि राखिने छन् । ६ दिनसम्म आयोजना हुने यो अटो शोमा पैठारीकर्ता, डिलर, उत्पादक तथा विक्रेता गरी ७१ कम्पनीहरुको सहभागिता रहने छ ।
अटो शोमा १ सय ३४ वटा ब्लक तथा स्टलहरु राखिने आयोजकको भनाई छ । प्रदर्शनीमा सवारी साधनका साथै नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस्, लुब्रिकेन्टस् टायर, ग्यारेज उपकरण, ब्याट्री तथा अन्य एशोसेरिज लगायत नेपाल मै बनेका सामाग्रीहरु समेत राखिने छ ।
अटो शोमा प्रत्येक दिनको एउटा लक्कि ड्रबाट एउटा मोबाइल वितरण गरिने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ । प्रवेश टिकटबाट लक्कि ड्रमा परेकालाई कोलप्याड मेगा २.५ डी मोबाइल दिइने आयोजकको भनाई छ । यसका लागि जय माँ इन्टरकन्टिनेन्टल प्रालिले प्रायोजन गरेको छ ।
अटो शो अवलोकनका लाग व्यवस्था गरिएको टिकटको मूल्य विद्यार्थीहरुका लागि १ सय ५० रुपैयाँ र अन्यलाई २ सय रुपैयाँ तोकिएको छ ।
अटो शो ६० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले बताए । नेपालमा अटो क्षेत्रमा भइरहेको आधुनिक एवम् प्राबिधिक विकासको प्रचारप्रसार र प्रबद्र्धन गर्ने उद्देश्यले अटो शो आयोजना गरिएको अध्यक्ष दाहालले बताए ।
अटो शो नाडा र ग्लोबल एक्सपोजिशन एण्ड म्यानेजमेन्ट सर्भिसले संयुक्त आयोजनामा आयोजना गर्न लागेका हुन् । शो को टाइटल स्पोन्सर सर्भो वल्र्डक्लास लुब्रिकेन्ट्स रहेको छ ।