पश्चिम सेतीमा चाइनिजको बदमासी, ८५ करोड रुपैयाँ मायाँ मारेर फर्किने भो थ्री गर्जेज



काठमाडौं । लाइसेन्स होल्ड गरेको ६ वर्षपछि पश्चिम सेती जलविद्युत आयोजना नबनाई चिनियाँ कम्पनी थ्री गर्जेज फर्किने भएको छ । ६ वर्षको अवधिमा खर्च गरेको ८५ करोड रुपैयाँ मायाँ मारेर अन्तत फर्किने निर्णयमा पुगेको हो ।

एकपछि अर्को शर्त थप्दै आएको थ्री गर्जेजले नेपाल सरकारले उसले खारेका शर्त मान्दा मान्दै पनि आयोजना नबनाइ फर्किन लागेको हो ।
थ्री गर्जेजकै आग्रहमा ७५० मेगावाट विद्युत उत्पादनको क्षमतालाई ५५० देखि ६२० मेगावाटसम्म झार्न र अमेरिकी डलरमा विद्युत खरिद बिक्री (पीपीए) गर्न नेपाल सरकार तयार भएको थियो ।

आफूले राखेका सबै शर्त नेपाल सरकारले मान्दा मान्दै पनि अन्तिममा आएर पुनरबास र पुनस्थापनाको विषयमा किचलो गरी आयोजनान फिजिबल नभएको भन्दै थ्री गर्जेजका अधिकारीहरुले आयोजना बनाउन नसकिने बताए ।

दुई दिनदेखि लगानी बोर्ड र थ्री गर्जेजका प्रतिनिधिबीच काठमाडौंमा छलफल भएको थियो । छलफल पछि पत्रकार सम्मेलन गर्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले थ्री गर्जेज पश्चिम सेतीबाट बाहिरिन खोजेको बताए ।

‘शर्तमाथि शर्त राख्दै थ्री गर्जेज पश्चिम सेतीबाट बाहिरिन खोजेको छ,’ अधिकारीले भने, ‘यसबाट हामीले ठूलो पाठ सिकेका छौं ।’

२०६८ सालमा तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको सरकारले पश्चिम सेती निर्माण गर्नका लागि थ्री गर्जेजसँग सम्झौता गरेको थियो ।
आयोजना निर्माण गर्न कूल १ खर्ब ५० अर्ब लाग्ने अनुमान थियो ।


पुष्प दुलाल