…अनि नेपाल एयरको जहाज नमसरालाई एक्लै लिएर भैरहवा उड्यो




काठमाडौं । सोमबार सबा १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुग्दा नमसरा बस्नेतलाई समयमै जहाज उड्ला कि नउड्ला भन्ने चिन्ता थियो ।

उनको जहाज ११:१५ बजे काठमाडौंबाट भैरहवा जाने थियो । तर, ११ बजेसम्म पनि उनलाई न त नेपाल एयरलाइन्सले बोर्डिङ पास नै दियो, न त नेपाल एयरको काउन्टरमा कुनै कर्मचारी नै देखिन्थे ।

जहाज छुट्न १५ मिनेट बाँकी रहदा नेपाल एयरको काउन्टरमा २ जना कर्मचारी आए । बोर्डिङ पास दिए । र, तपाइ आज एक्लै यात्रा गर्दै हुनुहुन्छ भन्दै सँगै लिएर जहाज तर्फ लगे ।

‘बोर्डिङ काउन्टरमा कुरेर बसिरहेकी थिएँ, २ जना कर्मचारी आएर मलाई बोर्डिङ पास दिएर जहाजतिर सँगै लगे, काउन्टरमै मलाई एक्लै यात्रा गर्दैहुनुहुन्छ भन्दा केही डर भने लागिररहेको थियो,’ बस्नेतले भनिन् ।

उनको डर त्यतिमा मात्रै सीमित भएन ।

‘धेरै पटक काठमाडौंबाट भैरहवा जहाजमा आउने जाने गरेको छु, यसरी एक्लै यात्रा कहिल्यै गरेको थिइनँ, जहाजभित्र कोही यात्रु थिएनन्, विमानका भाइले नडराउनुस् आन्टी, हामीपनि सँगै छौं भन्दै सम्झाए,’ उनले थपिन् ।

कुरा यतिमा सीमित रहेन । नेपाल एयरलाइन्सका कर्मचारीले बस्नेत सिटमा बसेपछि उनकै मोबाइल मागे र फोटो खिचिदिए ।

यो बेलासम्म पनि उनको मनमा डर कम भएनछ ।

‘सायद म धेरै डराए जस्तो गरिछु क्यारे, एयर होस्टेज भाइले नडराउनुस् आन्टी भन्दै पछाडिकै सिटमा आएर बसेपछि डर केही कम भयो,’ बस्नेतले सुनाइन् ।

सोमबार अपरान्ह नेपाल एयरको फ्याइट नम्बर आरए १७३ को जहाजले नमसरालाई एक्लो यात्रुको रुपमा काठमाडौंबाट भैरहवा लगेको थियो । नेपाल एयरले काठमाडौं भैरहवा रुटमा दैनिक एउटा उडान भर्दैआएको छ ।

१८ सिटे सो जहाजमा अरु कसैले पनि टिकट काटेका रहेनछन् । त्यसैले उनी एक्लो यात्री बनेकी रहिछन् ।

यात्रुले टिकट काटिसेपछि जहाजमा जति यात्रु भएपनि समयमै उडान भर्ने गरिएको नेपाल एयरलाइन्सका प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले बताए ।

‘होटल खोलेपछि सधैभरी सबै कोठा भरिने गरी ग्राहक आउँछन् भन्ने हुदैन, सबै रुटमा सधैभरी सबै बसले भरी यात्रु बोकेर हिड्दैनन्, हाम्रो पहिलो प्राथमिकता भनेको यात्रुको सेवा हो, जतिजना यात्रु भएपनि तोकिएको समयमा जहाज उडाउने गरेका छौं,’ कंसाकारले भने ।

तर, काठमाडौं भैरहवा रुटमा नेपाल एयरको एक्लो उडान भने होइन । निजी क्षेत्रका एयरलाइन्सले भने यात्रुको चापको आधारमा उडान संख्या घटबढ गर्ने गरेका छन् ।

सोमबार मात्रै सो रुटमा नेपाल वायुसेवा निगम सहितका निजी क्षेत्रका एयरलाइन्सले ११ वटा उडान भरेको त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल कार्यालयले जानकारी दियो ।

यसमध्ये बुद्ध एयरले ४ वटा उडान भरेको एयरलाइन्सका मार्केटिङ डाइरेक्टर रुपेश जोशीले जानकारी दिए । यस्तै यति एयरलाइन्सले ३ वटा उडान भरेको प्रबन्धक भीमराज राईले बताए । सोही दिन सौर्य एयरलाइन्सले एउटा र श्री एयरलाइन्सले २ वटा उडान भरेका थिए ।


क्लिकमान्डु