बागलुङमा पहिरोमा पुरिएर सासूबुहारी बेपत्ता



बागलुङ । निसीखोला गाउँपालिका–३ का मानबहादुर शाहीको घर आज बिहान गएको पहिरोमा पुरिँदा उनकी श्रीमती ६५ वर्षीया धनकुमारी र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएका छन् ।

पहिरोले क्षतिग्रस्त बनाएको घरभित्रै उहाँहरु च्यापिएको हुनसक्ने प्रहरीले जनाएको छ । प्रहरी र स्थानीवासी खोजी र उद्धारमा जुटेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।

घरमुली मानबहादुर शाही गोठ गएको बेला घटना भएको जनाइएको छ । गएरातिको वर्षाले जिल्लाका अन्य ठाउँमा पनि भौतिक क्षति पुर्याएको बताइएको छ ।

पहिरोले चार घर पुरिए, एघार घर जोखिममा
यता, म्याग्दीको मालिका गाउँपालिका–२ रुम बिलबाङमा गएरातिको पहिरोले चार घर पुरिएका छन् । वर्षासँगै आएको पहिरोले स्थानीय नरबहादुर पुन, सोमप्रसाद पुन, सिजमान पुन र नोठबहादुर पुनको घर पुरिएको हो ।

रुमदेखि खबाङ जाने मोटरबाटो छेउबाट खसेको पहिरोले घर पुरिए पनि बिहानपख पहिरो गएकाले भागदौड गरी स्थानीयले ज्यान जोगाएको स्थानीय व्यवसायी काशीराम पुनले जानकारी दिए । पहिरोले चार घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा लगायत सबै सामान पुरिएको उनले बताए ।

बिलबाङमा साना ठूला पहिरोबाट ११ घरधुरी थप उच्च जोखिममा परेका छन् । काशीराम पुन, बुद्धिराम पुन, दलबहादुर पुन, मनमान पुन, तमबहादुर पुन, हर्कलाल रोका, तुलबहादुर रोका, तुलप्रसाद पुन, बलबहादुर घर्ती, जुद्धमान पुन, महेन्द्र पुनको घर जोखिममा परेका छन् ।

पहिरोमा परेर घाइते भएका आमा छोरा मीराकुमारी पुन र वसन्त पुनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । पहिरो गएको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा रहन आग्रह गरिएको र क्षतिको अवस्थाबारे गाउँपालिका र सुरक्षा निकायलाई जानकारी गराइएको वडाध्यक्ष नरबहादुर पुनले बताए ।

पहिरो प्रभावित भएका स्थानमा नजिकका पोष्टबाट प्रहरी परिचालन गरी क्षतिको विवरण सङ्कलन र उद्धारमा खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढामगरले जानकारी दिए । रासस


क्लिकमान्डु