उर्जामा १ खर्ब लगानी गर्न बंगलादेश तयार, मोदीसँग हुनेछ यस्तो छलफल



काठमाडौं । नेपालको ऊर्जा क्षेत्रमा बंगलादेशले करिब १ खर्ब बराबरको लगानी तत्कालै गर्न सकिने बताएको छ ।

नेपाल भ्रमणमा आएका बंगलादेशका विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले नेपाली सरकारी उच्च अधिकारीसँगको भेटमा सो प्रतिवद्धता जनाएका हुन् ।

उनले महत्वपूर्ण र आर्कषक आयोजनाको छनोट गरेर जानकारी दिन समेत ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री बर्षमान पुन समक्ष आग्रह गरेका छन् ।

उनले सरकारी वा निजी जुनसुकै रुपमा पनि नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न सकिने भन्दै आर्कषक र महत्वपूर्ण आयोजना छनोट गरी त्यसको जानकारी दिन आग्रह गरेका हुन् ।

बंगलादेशी राज्यमन्त्रीसँगको द्विपक्षीय वार्तामा सहभागी ऊर्जा मन्त्रालयका एक अधिकारीका अनुसार बंगलादेश सरकार नेपालको ऊर्जा क्षेत्रमा आक्रामक रुपमा लगानी गर्न तयार देखिएको छ, उसले आयोजना नै तोकेर उपलब्ध गराउन समेत आग्रह गरेको छ ।

आण्ािवक भट्टी, कोइला र पेट्रोलियम पदार्थबाट विद्युत् उत्पादन गरिरहेको बंगलादेशले नेपालको खोला तथा नदीबाट उत्पादन हुने जलऊर्जा असाध्यै सस्तो पर्ने भन्दै लगानीका लागि तयार रहेको जनाएको हो ।

उसले प्रसारण लाइनका लागि समेत भारत सरकारसँग वार्ता गर्ने बताएको छ । त्यो हाम्रो विषय हो तर नेपाल, बंगलादेश र भारतका बीचमा त्रिपक्षीय वार्ता भएको खण्डमा प्रसारण लाइनको समस्या समेत समाधान हुन सक्छ ।

हाल बंगलादेशले भारतसँग ७०० मेगावाट विद्युत् खरिद गरिरहेको छ । आगामी महिना हुने बिमिस्टेको शिखर बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र बंगलादेशका प्रधानमन्त्रीले संयुक्त छलफल गरी प्रसारण लाइनको समस्या समाधान गर्ने विश्वास समेत बंगलादेशी राज्यमन्त्री हमिदले गरेका छन् ।


पुष्प दुलाल