किन बढेन तपाईँको तलब ?




विश्व समुदाय तीव्र आर्थिक विकासको गतिमा दौडिरहेको छ । लगानीको मात्रा पनि वर्सेनि बढेको छ । देश र कम्पनीहरु धनी हुँदै गएका छन् ।

तर, कर्मचारीको तलब भने बढेको छैन । आर्थिक विकासको तीव्र गतिमा विश्व समुदाय दौडिरहँदा कर्मचारीको तलब किन बढेन ?

बेलायतको एउटा कम्पनीमा काम गरिरहेकी लुसीले आफ्नो क्षमता र काम अनुसार तलब नपाएपछि काम छाडिन् । अहिले उनी आफ्नै डिजिटल कम्पनी सञ्चालन गर्ने गर्छिन् । लुसीको कम्पनीले न्यूनतम वार्षिक तलब ३० हजार पाउण्ड तोकेको छ ।

यसबाहेक कम्पनीको लागि बिजनेश ल्याउने कर्मचारीलाई कमिशन र कम्पनीको नाफा पनि कर्मचारीमाझ बाँड्ने गरिन्छ । लुसीका अनुसार कर्मचारीलाई कामप्रति दत्तचित्त बनाईराख्न पनि कर्मचारीको तलब बढ्नुपर्छ ।

गएको दशकमा देखिएको आर्थिक मन्दीबाट पनि विश्व अर्थतन्त्रले छुटकारा पाईसकेको छ । तीव्र गतिमा विस्तार भईरहेको अर्थव्यवस्थाको फाईदा केही कम्पनी र उच्च ओहोदाका मानिसले मात्रै लिएका छन् ।

आजको समयमा मानिसको रहनसहनमा निकै बदलाव आएको छ । दैनिक जीवनको खर्चपनि अत्याधिक बढेको छ । तर, कर्मचारीको तलब भने खर्च र आर्थिक विकास अनुसार बढेको छैन । पछिल्ला केही दशकमा कयौँ कर्मचारीको आर्थिक अवस्था झन् दयनीय बनेको छ ।

बेलायतका रोजगार विज्ञ डंकन ब्राउनका अनुसार आर्थिक विकास र तलबबीचको परम्परागत सम्बन्ध टुटेको छ । सन् १८६० देखि ७० दशकमा आर्थिक विकास र तलबको औषत सम्बन्ध बराबर थियो । तर, त्यसयताका दशकमा तलब र आर्थिक विकासबीचको औषत सम्बन्ध कमजोर बन्दै गयो । जसको परिणामस्वरुप कम्पनी धनी बने र कामदार गरिब ।

किन भयो यस्तो ?
विश्वभरका धेरै देशले तीव्र आर्थिक विकासका लागि उदार अर्थव्यवस्था प्रणाली अपनाए । बेलातय, चीन र भारत जस्ता देशले पछिल्ला ४० वर्षमा रोजगारका नियमहरु पनि खुकुला बनाएका छन् । रोजगारका नियम खुकुला बनाएसँगै मजदुर संगठनलाई कमजोर बनाएका छन् । जसका कारण रोजगारको बजारमा मजदुरको माग भन्दा कम्पनीको माग धेरै चलेको छ ।

यसबाहेक कम्पनीले कामदारसँग सम्झौता गर्दा थोरै समयको लागि मात्रै सम्झौता गर्ने गर्छ । थोरै समयको लागि कामको सम्झौता हुँदा राम्रो र धेरै तलवका लागि संघर्ष गर्ने कर्मचारीको हैसियत कमजोर भएको छ ।

सूचना प्रविधि र जीवनशैलीमा आएको परिवर्तनसँगै कयौँ कम्पनी तलब बृद्धी गर्नुको साटो अन्य सुविधा दिएर कर्मचारीलाई भुलाउनतर्फ लागे । अमेरिकन लेबर व्यूरोका अनुसार अमेरिकाका कामदारले आफ्नो सबै कर र खर्च कटाएर जम्मा तलको ६८.२ प्रतिशत तलब पाउँछन । १८ वर्ष पहिले सबै कर र खर्च कटाएर पनि ७२.५ प्रतिशत तलब कर्मचारीको हातमा पर्ने गथ्र्यो ।

सुविधा र तलबको सम्बन्ध
जी २० समूहमा रहेका देशका कम्पनीले आफूले कमाएको नाफा वितरणमा पनि कटौति गरेका छन् । सिड्नीस्थित अष्ट्रेलिया विश्वविद्यालयका जोन बुकाननका अनुसार खुला अर्थव्यवस्थामा व्यापारीहरु सबै नाफा आफूसँगै राख्न चाहन्छन् । लेबर मार्केटमा गरिएको उदार व्यवस्थाले कर्मचारीको तलब अपेक्षा अनुसार बढ्न सकेको छैन ।

लेबर मार्केटमा भएको उदार व्यवस्थाकै कारण कर्मचारी आफ्नो समयानुकुल काम गर्न सक्छन् । कामको अवधिमा पनि कटौति गरिएको छ । कर्मचारीले पाउने बिदामा पनि सुधार भएको छ । पेन्सन, बीमा जस्ता सुविधा पनि उपलब्ध गराईएका छन् ।

यसबाहेक कतिपय कम्पनीले देखावटी सुविधा पनि दिने गर्छन् । जस्तो कि कतिपय कम्पनीले कर्मचारीको लागि रक्सी, क्यान्टिनको खानामा छुट तथा सपिङमा छुट दिने प्रचलन शुरु गरेका छन् । यस्ता सुविधाले कर्मचारीको आर्थिक जीवनमा खासै ठूलो प्रभाव पार्दैन ।

इङ्गल्याण्डका मजुदर नेता फ्रान्सेस ओ ग्रेन्डीका अनुसार कर्मचारीको जीवनमा मनोरञ्जनको व्यवस्था ठीक हो । तर, मनोरञ्जनका सुविधाहरु तलब बृद्धिको विकल्प भने होईनन् ।

तर, केही यस्ता कम्पनी पनि छन्, जसले कर्मचारीको सुविधा सँगसँगै तलब पनि ख्याल राख्ने गर्छन् । हङकङ ब्राण्ड ब्यान्ड कम्पनीले आफ्ना कर्मचारीलाई पढ्ने सुविधा दिएको छ । तर, यो तलबको विकल्प भने होइन । तलब बृद्धिको विकल्पको रुपमा कम्पनीले कर्मचारीलाई सेयरमा हिस्सा दिएको छ । (बीबीसी हिन्दीबाट)


क्लिकमान्डु