एशियाली सेयर बजारमा लगानी गर्दै नेपाली लगानीकर्ता, भारतीय बजारबाट अहिले मालामाल




काठमाडौं । नेपाली सेयर बजार पछिल्लो एक वर्षदेखि बियरिस ट्रेण्डमा छ । लगानीकर्ताको घाटा बढेको छ ।

तर, केही सातायता भारतीय सेयर बजारले भने हरेक दिनजसो नयाँ रेकर्ड कायम गरेको छ । भारतका दुई स्टक एक्सचेन्ज मुम्बई स्टक एक्सचेन्ज र नेशनल स्टक एक्सचेन्जका सूचकहरुले हरेक दिन नयाँ रेकर्ड कायम राखेका छन् ।

अहिले भारतीय सेयर बजारमा मुम्बई स्टक एक्सचेन्ज परिसुचक बिएसई ३७ हजार २८५ अंकमा छ । यस्तै नेशनल स्टक एक्सचेन्ज परिसुचक निफ्टी ११ हजार २ सय ७८ बिन्दुमा छ ।

भारतीय सेयर बजारमा लगानी गरेर अवसर छोप्नेहरुमा नेपालमा धेरै नै छन् । नेपाली कानूनले नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लगाएको छ । त्यसैले नेपाली लगानीकर्ता भारतीय सेयर बजारमा लगानी गरेको कुरा सार्बजनिक रुपमा भन्न चाहदैनन् ।

सेयर बजारका एकजना ठूला लगानीकर्ताको अनुभवमा भारतमा लगानी गर्नेहरुमा ठूला सेयर लगानीकर्ता तथा यहाँका केही ठूला सेयर ब्रोक्ररहरु छन् ।

‘मेरो लगानी पछिल्लो १० वर्षदेखि भारतीय सेयर बजारमा छ, प्रतिफलकै लागि लगानी गर्नुपर्ने भएकोले जसरी भएपनि लगानी त गर्नै पर्यो नि,’ ती लगानीकर्ताले आफ्नो अनुभव सुनाउँदै भने ।

केपी ओलीको नेतृत्वको सरकार बनेपछि भारतीय सेयर बजारमा लगानी गर्ने मारवाडी समुदायका लगानीकर्ता झनै बढेको भारतमा सेयर लगानीगर्नको लागि व्यवस्थापनमा सहयोग गर्ने एक ब्रोकरले बताए ।

नेपालीहरुले पछिल्लो समय भारतमा मात्र नभएर आफ्नो लगानी सिंगापुर, हङकङ तथा दुबईसम्मका सेयर बजारमा फैलाएका छन् ।

‘केही नेपाली लगानीकर्ताले विगतदेखि नै विदेशका सेयर बजारमा लगानी गरेका छन्, लगानीबाट प्रतिफल पनि आएको हुन्छ, यस्तो प्रतिफल केही नेपाल भित्रिए पनि अधिकांश रकम उतै फेरि सेयर बजारमै वा अन्य सम्भावित क्षेत्रमा लगानी हुन्छ,’ ती ब्रोकरले भने ।

कानूनले विदेशमा लगानी गर्न प्रतिबन्ध लगाए पनि नेपालीले विदेशमा लगानी गरेको कुरा खुल्ला जस्तै भइसकेको छ । नेपालका एक मात्र डलर अर्बपति बिनोद चौधरीले आफ्नो आत्मकथामा आफूले बिदेशमा लगानी गरेको तरिका प्रस्तुत गर्दै स्वीकार गरेका छन् ।

‘परिवारका एक सदस्य बिदेश नभएको कोही पनि छैन, त्यसमा व्यवसायीका त नहुँने झन कुरा नै भएन, धेरैजसो व्यवसायीको लगानी विदेशमा छ, कानूनले नदिए पनि प्रक्रिया मिलाएर लगानी गर्ने गरिएको हुन्छ,’ भारतीय सेयर बजारमा लगानी गरिराखेका एक लगानीकर्ताले भने ।

ती लगानीकर्ताले सुनाए अनुसार यसरी विदेशका सेयर बजारमा लगानी गर्नेले प्रक्रिया पुर्याएर लगानी गरेका हुन्छन् ।

सेयर बजारका जानकारहरुका अनुसार लगानी गर्न सक्ने व्यक्तिको पहिचान गर्ने काममा केही व्यवसायी पनि सक्रिय छन् । यसमा केही ब्रोक्ररले समेत लगानी गरेका छन् । गोप्य रुपमा हुने भएको हुँदा यस्तो खालको लगानीको बारेमा नियामक निकायहरुलाई जानकारी हुँदैन । जानकारी भएपनि प्रमाण नहुँने हुँदा कानूनी कारबाही हुँदैन ।

भारतीय सेयर बजारमा पूर्ण रुपमा अनलाइन प्रणाली लागू छ ।

नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको मात्र आधिपत्य छ । तर, भारत लगायत अन्य देशका सेयर बजारमा सूचिकृत कम्पनीको विविधिकरण हुन्छ । जसले गर्दा लगानीकर्तालाई विकल्प बढी हुन्छ ।


क्लिकमान्डु