आइटी ऐन आउँदै, सूचनाप्रबिधिको गलत प्रयोग रोकिने



काठमाडौं । सामाजिक सञ्जालको प्रयोगसँगै दुरुपयोगपनि दिन प्रतिदिन बढ्दै गइरहेको छ । बेलाबेलामा सामाजिक सञ्जाल मार्फत हुने ठगी, व्यक्तिगत लाल्छना लगायतका समस्या नआएकापनि हैनन् ।

यसैकुरालाई मध्ये नगर गर्दै सरकारले साइबर सेक्यूरिटी अन्तर्गत आईटी ऐन ल्याउन लागेको नेपाल दूरसञ्चार प्राधिकरण, सूचना तथा प्रविधि विभागका निर्देशक मिनप्रसाद अर्यालले जानकारी दिए ।

नेपाल बिज्ञान तथा प्रबिधि प्रतिष्ठान(नास्ट)मा आयोजित ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ को उद्घाटनका अवसरमा आयोजित कार्यशाला गोष्ठीमा बोल्दै उनले नेपाल दुरसञ्चार प्राधिकरणले सरकार, सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयसँग सहकार्य गरेर ऐन तयारको मस्यौदा तयार पारी सिफारिस गरिसकेको बताए ।

उनले नेपाल दुरसञ्चार प्राधिकरणले यो भन्दा अगाडि अनलाईन सेक्युरिटीसँग जोडिएका विषयमा अन्तर्राष्ट्रिय दुरसञ्चार संघ आईटीयूको प्राविधिक सहयोगमा साइबर सेक्यूरिटीको रणनीति, नीति र ऐनको मस्यौँदा तयार पारेर नेपाल सरकारलाई सिफारिस गरिसकेको जानकारी दिए ।

ऐनमा इन्टरनेट तथा प्रविधिको प्रयोगलाई कसरी व्यस्थित तथा नियमन गर्ने, डाटा सुरक्षाका सवाल, गोपनियता र आईटी व्यवसायलाई नेपालमा कसरी अभिबृद्धी गर्ने लगायतका विषयहरु समाबेस गरिन लागेको अर्यालले बताए ।

‘हामीले डिजिटल सिग्नेचरका कुराहरु जोडेका छौँ, एउटाले अर्कोलाई इमेल गर्दा कसरी एथेन्टिक गर्न सकिन्छ लगायतका सबै इस्यूलाई समाबेस गरेर सूचनाप्रबिधिको मिसयूजलाई रोक्ने गरेर ऐन ल्याउँदै छौँ,’अर्यालले भने ।

उनले इन्टरनेटको प्रयोगलाई प्रोत्सान गर्ने र दुरुपयोगलाई हटाउनका लागि नेपाल सरकारले आईटी ऐन तयार पार्न लागेको बताए ।

एनपीसर्ट नेपालले आयोजना गरेको सिस्को ग्लोबल साइबर सेक्यूरिटी समिट २०१८ शनिबार सम्पन्न हुँदैछ । शनिबार विशेष कार्यक्रम होटल र्याडिशनमा हुने कार्यक्रम संयोजक चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

विश्वप्रसिद्ध आईटी तथा नेटवर्किङ कम्पनी सिस्कोको मुख्य प्रायोजनामा भएको यो कार्यक्रममा अष्ट्रेलिया, अमेरिका, बंगलादेश, श्रीलंका, चीन र भारत लगायतका राष्ट्रका प्रसिद्ध आईटी कम्पनीका व्यक्तित्वहरुले कार्यपत्र प्रस्तुत गर्नेछन् ।

समिटमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न विशेषताका बारेमा छलफल गरिनुका साथै साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुका बारेमा गम्भीर छलफल गरिने एनपीसर्टका अध्यक्ष तथा कार्यक्रम संयोजक अधिकारीले बताए ।


क्लिकमान्डु