साउन महिनाको पहिलो सोमबार, शिवालयहरुमा भक्तजनको भीड



काठमाडौँ । साउन महिनाको पहिलो सोमबार देश भरीका शिवालयहरुमा भक्तजनहरुको भीड लाग्यो । विभिन्न स्थानमा रहेका शिवालयहरुको अवस्थाका के कस्तो छ त ? केही शिवालयहरुको अवस्था यहाँ उल्लेख गरेका छौं ।

पशुपतिमा बिहानै देखि भक्तजनको भीड

यस वर्षको साउन महिनाको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथ मन्दिरमा भक्तजनको भीड लागेको छ ।

बिहान ३ बजेदेखि नै भक्तजन पूजा एवं दर्शनका लागि लाममा बसेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

बिहान केही समय वर्षात्ले लाममा बसेका भक्तजनलाई अप्ठ्यारो पारेर केही समय रोकिए पनि सहज रुपमा लाम सरेको उहाँले बताउनुभयो । दिउँसो १ बजेसम्म अढाई लाखभन्दा बढी भक्तजनले मूल मन्दिर प्रवेश गरी पूजा गरेको कोषले जनाएको छ ।

सूर्य दक्षिणायन भएको पहिलो साउने सोमबार भगवान् शिवको प्रिय भएकाले यस दिन शिवालयमा पूजा, दर्शन एवं जल चढाउने परम्परा बसेको हो । पशुपतिनाथसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । साउन महिनामा पवित्र नदी, ताल आदिबाट जल लगेर शिवालयमा चढाउन बोल बम मेला पनि लाग्ने गर्छ ।

साउनको सोमबार व्रत बसी भगवान् शिवको उपासना गरेमा पारिवारिक कल्याण, सुख शान्ति एवं मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

बोलबम धाममा भक्तजनको भीड
रुपन्देहीको सैनामैना नगरपालिका–ं १ स्थित पर्रोहामा पर्रोहा परमेश्वर शिव ज्योतिर्लिङ्ग बोलबम धाममा आज भक्तजनको भीड लागेको छ ।

साउनको पहिलो सोमबार र एकादशी व्रतसमेत रहेकाले मन्दिरमा भक्तजनको भीड बढेको पुजारी चन्द्र नेपालले जानकारी दिए । ज्योतिर्लिङ्गमा बुटवल, भैरहवा, मणिग्रामलगायत क्षेत्रबाट सो धाममा भक्तजन पुगेका छन् ।

कृष्णपक्षदेखि श्रावण शुरु हुने भएकोले साउन ११ गते गुरुपूर्णिमादेखि श्रावण शुक्लपक्ष भदौ महिनाको १० गते ऋषितर्पणी ९जनैपूर्णिमा ० सम्म एक महीना शिवजीलाई जलार्पण र रुद्राभिषेक गरिने बताइएको छ । पुजारी नेपालका अनुसार साउन शिवको प्रिय महीना भएकाले उहाँको पूजाआजा, आराधना, भजनकीर्तन गर्नाले रोगव्याधि नलाग्ने, संकट मोचन हुने र आयु लामो हुने धार्मिक विश्वास छ ।

सोमबारे मेला शुरु

महोत्तरीसहितका मिथिला क्षेत्रमा अहिले साउने मेलाको रौनक देखिन थालेको छ । साउन महिनाकोे आज पहिलो सोमबारबाट यहाँका शिवालयमा सो मेला शुरु भएको हो ।

बर्दिवास नगरपालिका–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरमा आज एकाबिहानैदेखि शिवको दर्शन गर्ने श्रद्घालुहरुको भीड लागेको छ । पूर्व–पश्चिम राजमार्गको टुटेश्वर चोकबाट आठ किलोमिटर जङ्गल क्षेत्र छिचोलेर पुग्नुपर्ने टुटेश्वरनाथ महादेव मन्दिरमा मेलाको पहिलो दिन नै आज हजारौँ श्रद्घालु पैदलयात्री बोलबम भन्दै हिँडेका छन् ।

यसैगरी जिल्ला सदरमुकाम जलेश्वरस्थित जलेश्वरनाथ महादेव, सिद्घपुरस्थित सिद्घनाथ महादेव, मगरथानास्थित मङ्गलनाथ महादेव र गैढाभेटपुरस्थित धस्नेश्वर महादेव मन्दिर परिसरमा हजारौँ श्रद्घालुको भीड देखिएको छ ।

यसपालि सौरमास र चन्द्रमासको गणनामा चार चार वटा सोमबार परेका छन् । सौरमास र चन्द्रमास दुवैसँगै पर्ने सोमबार भने यसपालि तीन वटा मात्र परेका छन् । अहिले सौरमासले साउन भए पनि चन्द्रमासले भने आउने शनिबारबाट मात्र साउन शुरु हुनेछ । चन्द्रमासको साउन सौरमासको भदौ १० गतेसम्म रहनेछ ।

सामान्यतया शिव उपासकहरु दुवै मासमासँगै परेका सोमबारलाई धार्मिक मान्यताअनुसार उपासनाका लागि राम्रो ठान्दछन् । यद्यपि सौरमास वा चन्द्रमास दुवैको भोग समय फरक परे पनि शिव उपासकले यी सबै सोमबारमा व्रत र उपासना गर्ने गरेका बर्दिवास–२ का पुरोहित महेशकुमार झा बताउँछन् ।

साउन महिना र त्यसमा पनि सोमबार चाहिँ भगवान् शिवको मन पर्ने दिन भएकाले यस महिनाभरिका सोमबार भगवान् शिवको आराधना गरेर शिवालयमा दर्शन गर्न जाने मिथिला संस्कति बनेको छ ।

शिवपुराण र मिथिला माहात्म्यमा साउन महिनाको सोमबार शिवको आराधना गर्दै शिवलिङ्गमा जलपूmल चढाउनाले पाप नाश भई मनवाञ्छित फल पाइनाका साथै देहत्यागपछि शिवलोकमा ठाउँ पाइने वर्णन रहेकाले शिवालयमा साउने मेला लाग्ने गरेको मिथिला संस्कृतिका जानकार जिल्लाको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठका मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्तिको भनाइ छ ।

दर्जन शिवालयमा जल चढाउनेको घुइँचो

साउनको पहिलो सोमबारका दिन झापाका दर्जनभन्दा बढी शिवालय मन्दिरमा बिहानैदेखि जल चढाउने दर्शनार्थीको घुइँचो लागेको छ ।

पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधाराधाम, कनकाई माई, कृष्णथुम्की, ॐकारेश्वर, पातालगंगालगायतका दर्जनभन्दा बढी शिवालय मन्दिरमा जल चढाउनेको भीड लागेको हो ।

साउनको पहिलो सोमबारसँगै आषाढ शुक्ल एकादशीसमेत परेका कारण बिहान ३ बजेदेखि नै यी मन्दिरमा भक्तजनको भीड लागेको थियो ।

अन्य शिवालयभन्दा अर्जुनधारा मन्दिरमा भक्तजनको चाप बढी हुने हुँदा त्यहाँ ट्राफिक व्यवस्थापनको कामसमेत व्यवस्थित पारिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताए ।

विशेषगरी अर्जुनधारा, जलेश्वर, कनकाईलगायतका मन्दिरमा झापाका विभिन्न स्थानदेखि इलाम, पाँचथर, ताप्लेजुङ र छिमेकी मुलुक भारतको पानीट्याङ्की, खेरिबारी, नक्सलबाडीलगायत स्थानका भक्तजन शिवालयहरूमा भेला भएका छन् । ।

पिण्डेश्वर बोलबम–दर्शनार्थीको भीड
सुनसरीको धरानस्थित धार्मिक पर्यटकीय क्षेत्र प्राचीन हरिद्वार पीण्डेश्वर शिवालयमा आज साउनको पहिलो सोमबार हजारौँ हिन्दू भक्तजनको भीड लागेको छ ।

बेलपत्र, धतुरोका दाना, मह, घिउ, दही आदिसमेत शिवालयमा चढाई भगवान् शिवबाट आशीर्वाद प्राप्त गर्न भक्तजनको शिवालयमा भीड लागेको हो । विगतमा झैं साउन महीनाको पहिलो सोमबार परेकाले हजारौँ हिन्दू भक्तजनले स्थानीय तलाउ, कुवा, पोखरी वा धाराबाट जल उठाई पिण्डेश्वर शिवालयमा चढाइरहेका छन् ।

त्यस्तै काँबरिया बोलबम तीर्थयात्रीले समेत बराहक्षेत्र र चतरास्थित कौशिकी तटमा स्नान गरी शुद्ध जल उठाएर पिण्डेश्वर शिवालयमा ल्याई चढाउने गरेको पाइएको छ ।

उक्त शिवालयमा जलार्पणका लागि आउने हजारौँ स्थानीयवासी तथा चतरा बराहक्षेत्रबाट जल लिएर आउने बोलबम भक्तजनको सुविधाका लागि स्वयंसेवकसमेत परिचालन गरिनुका साथै स्वास्थ्य तथा सुरक्षा व्यवस्था मिलाइएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

आजै सोमबार ठूलो एकादशीसमेत परेकाले सम्पूर्ण हिन्दू नरनारीले घर घरमा तुलसी रोपेर भगवान् विष्णुको पूजापाठसमेत गरेका छन् ।

देवघाटमा भक्तजनको घुइँचो
साउनको पहिलो सोमबार आज आषाढ शुक्ल एकादशीसमेत परेपछि पवित्र तीर्थस्थल देवघाट धाममा भक्तजनको घुइचो लागेको छ ।

हरेक वर्षको साउन महिनाको सोमबार देवघाटमा स्नान र पूजाआजाका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । देवघाट धाम संरक्षण प्रतिष्ठानका महासचिव मदन मिश्रका अनुसार आज बिहान सबेरैबाट नजिकका तीर्थयात्री आउन शुरु गरेकोमा क्रमशः केही परबाट पनि तीर्थयात्री आउन थालेका छन् । देवघाटमा स्नान गरेमा पुण्य प्राप्ति हुने विश्वासका साथ सर्वसाधारण आउने क्रम जारी रहेको उनले बताए ।

मिश्रका अनुसार तराईका जिल्लामा भने साउन १४ गतेबाट मात्र बोलबम मेला शुरु हुने भएकाले सोपश्चात् भक्तजन बढ्ने छन् । देवघाट क्षेत्र विकास समितिले नदीको बाहव बढ्दै गएकाले उच्च सतर्कता अपनाउन भक्तजनलाई आग्रह गरेको छ । आज दिनभरमा एक लाख ५० हजार भक्तजन देवघाट आउने अनुमान समितिले गरेको छ ।

गत वर्ष सूर्य अस्त भएकाले तीन लाख हाराहारी मात्र तीर्थयात्री देवघाट आएकोमा यो वर्ष पाँच लाख पुग्ने अनुमान समितिको छ । रासस


क्लिकमान्डु