नेपालमा पहिलो पटक साउन ११ र १२ गते साइबर सेक्युरिटी समिट हुँदै



काठमाडौं । नेपालमै पहिलो पटक अन्तराष्ट्रिय स्तरको ‘सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ हुने भएको छ । नेपाली सर्वसाधरणलाई साइबर क्राइमको विषयमा सचेत गराउने उद्देश्यका साथ साउन ११ र १२ गते सिस्को ग्लोबल साइबर सेक्युरिटी समिट २०१८ सञ्चालन हुन लागेको हो ।

बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रिजेलियन्स भन्ने मूल नाराका साथ हुने यो कार्यक्रमको पहिलो दिन वर्र्कसप कार्यक्रम नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा सञ्चालन हुने छ भने दोस्रो दिनको कार्यक्रम र्याडिसन होटलमा हुनेछ ।

विश्वप्रसिद्ध आईटी तथा नेटवर्किङ कम्पनी सिस्कोको मुख्य प्रायोजनामा हुन लागेको यो कार्यक्रममा अष्ट्रेलिया, अमेरिका, बंगलादेश, श्रीलंका, चीन र भारत लगायतका राष्ट्रका प्रसिद्ध आईटी कम्पनीका व्यक्तित्वहरुको प्रस्तुत रहने छ ।
समिटमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न विशेषताका बारेमा छलफल गरिनुका साथै साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुका बारेमा गम्भीर छलफल गरिने एनपी सेन्टरका अध्यक्ष चिरञ्जिवी अधिकारीले जानकारी दिए ।

समिटमा व्यापार तथा वित्त क्षेत्रको आवश्यकता अनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि गरिने उनले बताए । समिट मार्फत नै साइबर रिजलेन्सका लागि विश्व गठबन्धन समेत निर्माण गरिने उनको भनाइ छ ।
समिटमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण, साइबर सुरक्षा विश्लेषण, रिकभरी र नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्ने लगायतका विषयमा छलफल गरिने अधिकारीले बताए ।

समिटमा १ सय ५० देखि २ सय जना व्यक्तिहरुको सहभागिता रहने अनुमान गरिएको छ । समिटमा सहभागिताका लागि १ हजार रुपैयाँ रजिष्ट्रेशन शुल्क तोकिएको छ भने समिटको अगिल्लो दिन हुने वोर्कसपमा सहभागि हुनका लागि ५ हजार रुपैयाँ प्रवेश शुल्क तोकिएको छ ।

समिटमा सुचना प्रविधि क्षेत्रमा आवद्ध व्यवसायिक व्यक्तिहरु, सुरक्षा विज्ञहरु, सरकारी अधिकारीहरु, व्यवसायीकहरुका साथै विद्यार्थीहरुको पनि सहभागिता रहने जानकारी दिइएको छ ।

समिटमा सहप्रायोजक टेक्सास कलेज लगप्वाइन्ट र चेकप्वाइन्ट रहेको छ ।


क्लिकमान्डु