काठमाण्डौमा मासुको खपत बढ्दै, दैनिक एक लाख ५० हजार किलो मासुको माग
काठमाडौँ । काठमाडौँमा जनसंख्या बृद्धिसँगै मासुको खपतसमेत बढ्दै गएको छ ।
काठमाडौँ चौपाया खरिद बिक्री प्रालिका अनुसार दैनिक ६ लाखको संख्यामा खसीबोका काटिन्छ । उत्पादन अपुग भएपछि भारतबाट वार्षिक पाँच लाख ५० हजार तथा चीनबाट १२ हजारभन्दा बढी खसिबोका आयात गरिँदै आएको छ ।
काठमाडौँ चौपाया खरिद बिक्री प्रालि कलंकीले विगत २३ वर्षदेखि काठमाडौँ उपत्यका तथा नजिकका जिल्लाबाट खसिबोका व्यवस्थापन गर्दै आएको छ । काठमाडौँमा दैनिक एक लाख ५० हजार किलो मासुको माग रहेको छ ।
पशुपक्षी बजार निर्देशनालयका निर्देशक डा बलराम थापा आम्दानी बढेसँगै मासुको उपभोग गर्ने प्रवृत्ति बढेको बताउँछन् ।
‘कन्जुमर आइ’ संस्थाकी अध्यक्ष विमला खनालले संविधानमै उपभोक्तालाई गुणस्तरीय तथा स्वस्थ मासु खान पाउने अधिकार सुनिश्चित गरेको भएपनि सरकारले मासुको गुणस्तरमा ध्यान दिननसकेको बताए ।
नेपाल चौपाया खरिद बिक्री संघका अध्यक्ष गोविन्द पाठकले करिब ७५ प्रतिशत मासुजन्य वस्तु भारतबाट आयात गर्ने गरिएको बताए । रासस