सेयर लगानीकर्तालाई २५ प्रतिशत घाटा लगाउदै आर्थिक वर्ष २०७४/७५ सकियो



काठमाडौं । चालु आर्थिक वर्ष २०७४/७५ आजदेखि सकिन लागेको छ । धेरै कारोबारीहरु चालु आर्थिक वर्षको नाफाघाटा कारोबार मिलाउन व्यस्थ छन् । तर,सेयर लगानीकर्ता भने यो वर्ष घाटामात्र लागेको छ ।

ॱसकारात्मक सोचको बिकास तथा स्थिर सरकारको स्थापना हुँदा हुदै पनि आर्थिक बर्ष २०७४/०७५ नेपालको पुँजीबजारको लागि निरासाजनक रह्यो!’

सेयर लगानीकर्तासंघका अध्यक्ष अम्बिका प्रसाद पौडेलले चालु आर्थिक वर्षको अन्तिम दिनको सेयर कारोबार बन्द भएपछि फेसबुकमा पोस्ट गरेको स्टाटस हो ।

चालु आर्थिक वर्ष आजदेखि सकिदै छ । भोलिदेखि नयाँ आर्थिक वर्ष २०७५/७६ सुरु हुँदै छ । सरकारले बजेटसँगै परिवर्तन गरेका धेरै कर नीतिहरु भोलिदेखि लागु हुन्छ ।

यो आर्थिक वर्षको पहिलो दिन २०७४ साउन १ गते नेप्से परिसूचक १६०४.१५ बिन्दुमा थियो । अन्तिम दिन आज १२१२.३६ बिन्दुमा पुगेको छ । यस आधारले हेर्दा नेप्से परिसूचक २४.४४ प्रतिशतले घटेको छ ।

लगानीकर्ता संघका अध्यक्ष पौडेलले फेसबुक स्टाटसमा राखेजस्तो यो वर्ष लगानीकर्ताले करिब २५ प्रतिशत गुमाएका छन् ।

‘यही बर्ष नै लगानीकर्ताहरुले ७ प्रतिशत ब्याजदर १४ प्रतिशत तिर्न तिर्न बाध्य भए। भने पछि ऋण लिएर लागानी गरेका लगानीकर्ताले सिधै ३८।४४ प्रतिशत गुमाए’ पौडेलले स्टाटसमा भनेका छन् ।

उनले आर्थिक बर्ष २०७५र०७६ सबै लगानीकर्ताको लागि सुखद रहोस् भन्ने कामना गर्दै सरकार कम्तीमा भोलि देखी अनलाइन कारोबार र छिटो भन्दा छिटो बैंकलाई ब्रोकरको लाईसेन्स ब्यबस्था गरि जोखिम भार मुल्यांकन १०० मा ल्याई प्राथमिक पुँजीको सत प्रतिसत सम्म ऋण दिने र ब्यक्तिगत कर्जाको सिमा पुर्बबत गर्न माग गरेका छन् ।

पौडेलजस्तै धेरै लगानीकर्तालाई यो आर्थिक वर्ष राम्रो भएन ।

चालु आर्थिक वर्षमा नेप्से परिसूचक घटेर ११६८.६२ बिन्दुसम्म पुग्यो । यस आधारले हेर्दा लगानीकर्ताको रकम अर्बै रुपैयाँ डुबेको छ ।

यो आर्थिक बर्षको नेपाल स्टक एक्सचेन्जको डाटालाई साक्षी राख्ने हो भने बजारमा निकै उत्तार चढाव आएको पाईन्छ । गत २०७४ साल साउन २३ गते १६६७.९२ बिन्दुले बढेर नेप्से बर्षकै सबैभन्दा उचाईमा समेत पुगेको पाईन्छ । यसैगरी सोही बर्ष भदौ २८ गते नेप्से परिसूचक घटेर १४९३.२० बिन्दुमा पुगेको थियो ।

यस्तै उतारचढाव आउँने क्रममा नेप्से मंसिर २६ तिर १५२० को हाराहारीमै घुमेको पाईन्छ । तर २०७४ को अन्तिम तिर आउँदा नेप्से परिसूचक ह्वात्तै घट्यो ।

परिसूचकमा ११६८.६२ सम्मको घटाईले लगानीकर्ता अन्योलको अवस्थासम्म पुगेको ईतिहास ताजै छ । अझै पनि बजारमा स्थिरता छैन । लगानीकर्ताको त्रासमा मलमपट्टी भएको पाइदैन । झिनो अन्तरले बजार बढे पनि समग्रमा बजार ओरालै लागेको छ ।

यस्तै बैशाख ९ गते साताको पहिलो दिन नेप्से परिसूचक नपत्यादो पाराले बढेर १४३८.४९ बिन्दुमा पुगेको छ ।

अहिले बजार ओराले लाग्ने क्रममा नै छ । फाट्ट फटुट्ट केही वृद्दी भए पनि पूँजीको सदुपयोग नभइसकेकाले लगानीकर्ता ढुक्क हुने वातावरण बनिसकेको छैन ।

नयाँ आर्थिक वर्षदेखि सुरु हुने अनलाइन कारोबार तथा बैंककको ब्याजदर घट्ने अपेक्षा हुँदा सेयर बजार बढ्ने अपेक्षा लगानीकर्ताको छ ।


क्लिकमान्डु