१८ मेट्रिक टन जडीबुटी निकासी, २ लाख ७८ हजार राजश्व संकलन



म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट आर्थिक वर्ष २०७४\७५ मा करीब १८ मेट्रिक टन जडीबुटी निकासी भएको छ ।

म्याग्दीका वनजंगलमा संकलन गरिएका ११ प्रजातिका १७ हजार ९७४.२५ किलोग्राम जडीबुटी निकासी भएको जिल्ला वन कार्यालयले जनाएको छ । जडीबुटी निकासीका लागि अनुमति दिएवापत  दुई लाख ७१ हजार ८० राजश्व संकलन भएको सहायक वन अधिकृत राजकुमार ठाकुरले जानकारी दिए ।

सबैभन्दा बढी १२ हजार ९७२ किलोग्राम खोटो निकासी भएको छ । छ सय किलोग्राम नागबेली, ४३० किलोग्राम कुटुकी, ८५० किलोग्राम लोत्ता, ४३५ किलोग्राम सतुवा, एक हजार १९० किलोग्राम भिरमह, एक हजार ७० किलोग्राम विष जरा, ६० किलोग्राम जटामसी, २.६५ किलोग्राम यार्सागुम्बा, ८४.६ किलोग्राम वनलसुन र २८० किलोग्राम साधारण च्याउ निकासी भएको छ ।

आर्थिक वर्ष २०७३\७४ मा १५ प्रजातिका चार हजार ७८४.७ र २०७२\७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलोग्राम जडीबुटी निकासी भएको थियो । यसैगरी वनपैदावार र जडीबुटीजन्य उद्योगको प्रवद्र्धनका लागि वन कार्यालयले यस वर्ष करीब  आठ लाख अनुदान उपलब्ध गराएको छ ।

बेनी नगरपालिका–९ घतानको निलपहरा सामुदायिक वनमा जडीबुटी भण्डारण तथा प्रशोधन केन्द्रको भवन निर्माण गर्न र धवलागिरि गाउँपालिका–७ धारापानीको नेप्लिज ह्याडिक्राफ्ट उद्योगलाई अल्लो प्रशोधन गरेर कपडा उत्पादन गर्ने औजार खरिद गर्न रु तीन लाख ९० हजारका दरले अनुदान उपलब्ध गराएको जिल्ला वन अधिकृत माधव देवले जानकारी दिए ।

उनले यस वर्ष म्याग्दीमा १२ हेक्टर क्षेत्रफलमा मसलेदार फल टिमुरको खेती विस्तार र रघुगंगा गाउँपालिका–८ कुइनेमंगलेको कृष्ण तालाबन्दी सामुदायिक वन समूहमार्फत डेढ हेक्टर क्षेत्रफलमा सतुवा जातको जडीबुटीखेती शुरु गरिएको जानकारी दिए । रासस


क्लिकमान्डु