आँपले बजार पाएन, कृषकलाई थपियो चिन्ता



सुर्खेत । भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित भएका छन् ।

उत्पादन भएको आँपले बजार नपाएपछि उहाँलाई चिन्ता भएको हो । बिक्री हुन नसक्दा अहिले आँप कुहिन थालेको छ ।

“गत वर्ष आँप बेचेर रु तीन लाखसम्म आम्दानी गरेका थियौँ, यसपाली आँप बिक्री हुन सकेको छैन,” वलीले भने ।

रामघाटकै धनसरा भण्डारीको आँप बिक्री नभएर बगैँचामा कुहिएको छ । “फलफूलबाहेक अन्य बाली राम्रो उत्पादन हुँदैन”, उनी भन्छन्, “आँपबाटै गुजारा चलाउँदै आएका छौँ ।” आँप बिक्री नभए वर्षभरि नै भोकै बस्नुपर्ने हुन्छ ।

आँपले बजार नपाएपछि कृषकले कर्णाली प्रदेश सरकारसँग जुस उद्योग स्थापनाको माग गरेका छन् । कृषकले बजारीकरण गर्न जुस उद्योग र शीतभण्डारको माग गरेका छन् ।

“आँप कुहिएर जाने भएकाले जुस उद्योग आवश्यक छ,” रामघाटका सुरेन्द्र सिंहले भन्नुभयो । भारतबाट आयात गरिएको आँपसँग यहाँ उत्पादित आँपले प्रतिष्पर्धा गर्न नसक्दा बजार पाउन नसकेको हो ।

कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीले आँपको बजारीकरणका लागि प्रदेश सरकारले पहल गर्ने बताए । “यहाँको आँपको गुणस्तरमा समस्या देखिएको छ”, उनले भने । फलफूल बजारीकरणका लागि कर्णाली प्रदेश सरकारले तीन करोड बजेट छुट्याएको मन्त्री केसीले जानकारी दिए ।

“प्रदेशका प्रत्येक जिल्लामा प्रशोधन केन्द्रका लागि ५० लाख बजेट छुट्याइएको छ,” उनले भने । रासस


क्लिकमान्डु