यस्तो पो रहेछ, २०३ स्थानीय तहमा बैंकले शाखा खोल्न नसक्नुको कारण



काठमाडौं । सरकारले बजेटमार्फत् चालू आर्थिक वर्षभित्र ७५३ वटै स्थानीय तहमा वाणिज्य बैंकका शाखा पुर्याउने घोषणा गरेको थियो ।

राष्ट्र बैंकले पनि मौद्रिक नीतिमार्फत् ०७५ असार मसान्तसम्ममा सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने व्यवस्था गर्दै बैंकहरुलाई निर्देशन दियो ।

बैंकहरुले पनि स्थानीय तहहरुमा धमाधम शाखा विस्तार गरे ।  तर, अहिलेसम्म पनि २०३ स्थानीय तहमा वाणिज्य बैंक पुग्न सकेका छैनन् ।

राष्ट्र बैंकले भने पनि २०३ स्थानीय तहमा बैंकहरु पुगेनन् नि ? अब कहिले पुग्लान् ? राष्ट्र बैंकका प्रवक्ता भन्छन्, ‘बैंकहरु ती ठाउँमा पनि जान चाहाँदा चाहँदै जान सकिरहेका छैनन्, आशा गरौं छिट्टै पुग्छन् ।’

हामीले यही प्रश्न नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानालाई सोध्यौं । बैंकरुले २०३ स्थानीय तहमा शाखा नखोल्नुको कारण के ? उनले प्रयास गर्दागर्दै पनि खोल्न नसकिएको बताए ।

‘५०/६० ठाउँमा पटकपटक सार्वजानिक सूचना निकालेर बैंकको कार्यालय राख्ने घर खोज्दा पनि घर भेटिएको छैन, ५०/६० वटा स्थानीय तहको केन्द्रसम्म बाटोको समस्याका कराण बैंकको शाखालाई आवश्यक पर्ने सामान लिएर पुग्नै सकिएको छैन,’ अध्यक्ष ढुंगानाले भने, ‘५०/६० वटामा स्थानीय तहको केन्द्र कहाँ राख्ने भन्ने विवाद छ, जसकारण हामीले शाखा विस्तार गर्न सकिरहेका छैनौं ।’

बाँकी रहेका २५/३० वटा स्थानीय तहमा भने घरहरु बनिरहेको र ती घरमा केही महिनाभित्रै बैंकका शखा बस्ने उनले जानकारी दिए ।

राष्ट्र बैंकले यसैसाता सार्वजानिक गर्ने मौद्रिक नीतिमा पनि के कति ठाउँमा बैंकका शाखा पुगे, के कति ठाउँमा के कस्ता कारणले पुग्न सकेनन् भनेर उल्लेख गर्नेछ । र, अब कहिलेसम्ममा पुर्याउनुपर्ने र त्यसका लागि राष्ट्र बैंकले के कस्तो सुविधा दिने भनेर उल्लेख गर्ने प्रवक्ता पौडेलले जानकारी दिए ।

‘०७५ असार मसान्तसम्ममा सबै स्थानीय तहमा बैंक पुगेनन्, सायद मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बैंकहरुको बाध्यता बुझ्दै थप केही समय दिन्छ भन्ने मलाई लाग्छ,’ पौडेलले सुनाए ।


पुष्प दुलाल