पेट्रोलियम पदार्थको आयात बर्सेनि बढ्दो, आयल निगम १५ दिनमा ३ करोड घाटामा




काठमाडौं । नेपाल आयल निगमलाई असार महिनाको १५ दिनमा ३ करोड ३२ लाख रुपैयाँ घाटा भएको छ । वषाँैदेखि घाटा खेप्दै आएको निगमले पेट्रोलियम पदार्थ आयात गर्दा १५ दिनमा ३ करोड ३२ लाख रुपैयाँ घाटा बेहोरेको निगमको आपूर्ति एभिएशन विभागका रामप्रसाद पाठकले जानकारी दिए ।

नेपालमा प्रत्येक वर्ष पेट्रोलियम पदार्थको माग बढ्दो छ । आयल निगमले आर्थिक वर्ष ०७४/७५ को जेठ महिनासम्ममा ४ लाख ४३ हजार ५ सय २९ किलो लिटर पेट्रोल आयात गरेको छ । यो वर्ष पेट्रोलको आयात १६ प्रतिशतले बढेको पाठकले जानकारी दिए ।

यस्तै, डिजेल यो आर्थिक वर्षको जेठ महिनासम्ममा १४ लाख २९ हजार ८ सय ७० किलो लिटर आयात गरिएको छ । डिजेल गत बर्षको तुलनामा यो वर्ष ३० प्रतिशतले बढी आयात भएको उनले बताए ।

यस्तै, मट्टितेलको आयात खासै बढेको छैन । यो आर्थिक वर्षको ११ महिनामा २० हजार २ सय ९ किलो लिटर मटितेल आयात भएको छ । मट्टितेल आयात गत बर्षको तुलनामा २ प्रतिशतले मात्र बढेको छ ।

आर्थिक वर्ष ०७४/७५ को जेठ महिनासम्ममा हवाई इन्धन आयात गत बर्षको तुलनामा १८ प्रतिशतले बढेको छ । यो अवधिमा हवाई इन्धन १ लाख ८२ हजार ४० किलो लिटर आयात भएको निगमले जानकारी दिएको छ ।

खाना पकाउने एलपीजी ग्याँस यो आर्थिक वर्षमा ३ लाख ३६ हजार ६ सय ५५ मेट्रिक टन आयात भएको छ । एलपीजीको ग्याँस आयात गत बर्षको तुलनामा २५ प्रतिशतले बढेको पाठकले जानकारी दिए ।

यस्तै, गत वर्षको आर्थिक वर्ष २०७३/७४ सालमा ४ लाख ७ हजार २ सय ७० किलो लिटर पेट्रोल आयात भएको थियो । सो आर्थिक वर्षमा आयात भएको मध्ये ४ लाख २ हजार २ सय ७८ किलो लिटर पेट्रोल बिक्री भएको थियो ।

गत वर्ष डिजेल १३ लाख १९ हजार ८ सय ७३ किलो लिटर आयात गरेको थियो । सो आर्थिक वर्षमा आयात भएको मध्ये १२ लाख ९७ हजार ६६ किलो लिटर डिजेल बिक्री वितरण भएको थियो ।

गत वर्ष मटितेल १९ हजार किलो लिटर आयात गरिएको थियो । मट्टितेल भने आयात भएको जति सबै बिक्री वितरण भएको आयाल निगमको विवरणले देखाएको छ ।

गत आर्थिक वर्षमा हवाई इन्धन १ लाख ६४ हजार ८ सय ३६ किलो लिटर आयात भएको थियो । सो आर्थिक वर्षको अवधिमा आयात भए मध्ये १ लाख ६४ हजार २ सय ९९किलो लिटर हवाई इन्धन बिक्री वितरण भएको थियो ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आयल निगमले १ खर्ब ६१ अर्ब ७१ करोडको पेट्रोलियम पदार्थ नेपाल आयात गरिएको पाठकले जानकारी दिए । उनका अनुसार हाल आयात भएको मध्ये १ खर्ब ७५ अर्बको पेट्रोलियम पदार्थ विक्री भई सकेको छ ।


क्लिकमान्डु