इलेप खोला जलविद्युत आयोजनाको पीपीएमा हस्ताक्षर



काठमाडौं । धादिङको रुवी भ्याली गाउँपालिकामा निर्माण हुने २३.६ मेगावाटको इलेप तातोपानी खोला जलविद्युत आयोजनाको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) भएको छ ।

नेपाल विद्युत प्राधिकरणका तर्फबाट योजना, अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदीश्वरमान सिंह र आयोजनाका तर्फबाट प्रवद्र्धक जलशक्ति हाइड्रो कम्पनी प्रालीका अध्यक्ष तिलक लामाले सोमबार पीपीएमा हस्ताक्षर गरेका हुन् ।

प्राधिकरणले आयोजनाबाट उत्पादित ऊर्जा सुख्खायाम (१६ मंसिर-१५ जेठ) र वर्षायाम (१६ जेठ-१५ मंसिर)मा प्रतियुनिट क्रमश ः ८.४० र ४.८० रुपैयाँमा खरिद गर्ने छ ।

आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्यबृद्धि (स्कालेसन) पाउने छ । आयोजनाबाट वार्षिकरुपमा १४ करोड ४८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले जनाएको छ ।

एक वर्षभित्रमा वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) गरी आयोजनाको निर्माण सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए । उनले निर्माण ३ वर्षभित्रमा सक्ने लक्ष्य राखिएको जानकारी दिए ।

पीपीएअनुसार, आयोजनाले व्यापारिकरुपमा विद्युत उत्पादन गर्नु पर्ने मिति डिसेम्बर २०२४ छ ।

निर्माण अवधिको ब्याजसहित आयोजनाको कूल अनुमानित लागत चार अर्ब ४७ करोड २९ लाख रुपैयाँ छ । अहिले आयोजनास्थलसम्म पुग्ने पहुँच सडक बनाउने लगायतका निर्माणपूर्वका काम भइरहेको कम्पनीका अध्यक्ष लामाले बताए ।

उत्पादित विद्युत् ३२ किलोमिटर प्रसारण लाइन आयोजनाले नै निर्माण गरी नुवाकोटस्थित त्रिसूली ३ बी हव सबस्टेसनमा जोडिने कम्पनीले जनाएको छ ।


पुष्प दुलाल