सार्क विकास कोषबाट साना तथा मझौला उद्यम व्यवसायको विकासमा सहयोग गर्ने प्रतिवद्धता



काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ, सार्क विकास कोष र सार्क उद्योग वाणिज्य संघका पदाधिकारीहरू बीच नयाँ दिल्लीमा सम्पन्न बैठकमा नेपालको साना तथा मझौला उद्यम व्यवसायको विकासमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त भएको छ ।

सार्क उद्योग वाणिज्य संघका अध्यक्ष रुवान इदिरिसिंहे, सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं महासंघका विशिष्ट सदस्य एवं पूर्व अध्यक्ष चण्डिराज ढकाल, विकास कोषका प्रमुख कार्यकारि अधिकृत डा. सुनिल मोतिवाल सहभागी बैठकमा नेपालमा साना तथा मझौला उद्यम व्यवसायमा समयबद्ध परियोजनामा सहयोग गर्नेमा कोषले प्रतिवद्धता जनाएको छ ।

एक तथ्यांक अनुसार नेपालको अर्थतन्त्रमा करिव ९० प्रतिशत योगदान रहेको यो क्षेत्र आवश्यक वित्तिय सेवाको अभावमा पछाडी परिरहेको तथ्यांक सो अवसरमा प्रस्तुत गरियो । कोषले आवश्यक वित्तिय जोहो गरिदिने हो भने यो क्षेत्र रोजगारी सृजना, आयआर्जन वृद्धि, पूजी निर्माण तथा सरकारको राजस्व अभिवृद्धिमा सहयोगी हुनुको साथै व्यवसाय प्रवद्र्धन सहित समग्र अर्थतन्त्रको विकासमा उल्लेख्य सहयोग पुग्ने धारणा सार्क उद्योग वाणिज्य संघका उपाध्यक्ष ढकालको थियो ।

बैठकमा महासंघको तर्फबाट, क्षेत्रीय आर्थिक विकासका लागि बहुपक्षीय विकास बैंकहरू, क्षेत्रीय वित्तिय संस्थाहरू, वाणिज्य बैंकहरू, सार्वजनिक तथा निजी क्षेत्रका प्रतिष्ठानहरू, दातृ निकाय तथा संस्थाहरूको साझेदारी निर्माणमा जोड दिइयो ।

साथै बाँसमा आधारित व्यवसाय विकास, सार्क मुलुकका महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा सञ्जाल विस्तार, उर्जाको सहज व्यवस्था पहुँच सहित महिलाहरूको आर्थिक शसक्तिकरण, मुल्य अभिवृद्धि, उद्यमशीलता तथा क्षमता विकासमा सहयोग, बंगलादेश र भारतसँगको सहभागितामा नेपालमा उर्जा विकास, सार्क क्षेत्रमा साना किसानहरूका उत्पादनहरूको मुल्य वृद्धिको माध्यमबाट जीवनस्तर सुधारमा जोड, ग्रामिण क्षेत्रको सशक्तिकरण लगायतको सुझाव प्रस्तुत गरिएको थियो ।


क्लिकमान्डु