मौद्रिक नीतिः लघुवित्त संस्थाको मर्जरमा एग्रेसिभ बन्दै राष्ट्र बैंक, चुक्तापुँजी बढाउने तयारी



काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुको चक्ता पुँजी बढाउने तयारी गरेको छ ।

३ वर्षअघि नै लघुवित्तको चुक्ता पुँजी बढाउने घोषणा गरेको राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् चुक्ता पुँजी बढाउने गृहकार्य थालेको हो ।

केन्द्रिय बैंकले यसै साता आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति सार्वजानिक गर्दैछ ।

‘पुँजीको आकार सानो भएको र लघुवित्त संस्थाहरुको संख्या धेरै भएको हाम्रो निष्कर्श छ,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘लघुवित्त कम्पनीलाई मर्जरमा जान विषेश प्रोत्साहनको नीति अबलम्बन गर्दैछौं । चुक्ता पुँजी बढाउने विषयमा पनि छलफल भइरहेको छ ।’

कम्तिमा ५ गुणाले लघुवित्तको चुक्ता पुँजी बढाउने कि भन्ने छलफल भइरहेको स्रोतले जानकारी दियो ।

‘अबको फोकस भनेको लघुवित्त संस्थाहरुको मर्जर नै हो,’ स्रोतले भन्यो ।

यसअघि पनि लघुवित्त कम्पनीको चुक्ता पुँजी बढाउने विषयमा छलफल गर्ने गरेको तर मौद्रिक नीति आउँदा चाहीँ पुँजी बढाउने नीति नआउने गरेको इतिहास भने छ ।

अहिले देशभर ६० भन्दा बढी लघुवित्त कम्पनीहरु सञ्चालनमा छन् । बाँकी ३ दर्जन कम्पनीहरु पाइपलाइनमा छन् ।

लघुवित्त कम्पनीहरुको संख्या धेरै हुँदा राष्ट्र बैंकलाई नियमन गर्न पनि कठिन भएको राष्ट्र बैंकका अधिकारीहरु बुझाइ छ ।

हाल राष्ट्रियस्तरका लघुवित्त कम्पनीको चुक्ता पुँजी १० करोड, क्षेत्रीय स्तरका लघुवित्तको ६ करोड, ३ जिल्ले लघुवित्तको २ करोड र १ जिल्लेको चुक्ता पुँजी १ करोड रुपैयाँ छ ।

लघुवित्त बैंकर्स एसोशिएसनले २ वर्षअघि नै लघुवित्त संस्थाहरुको चुक्ता पुँजी अढाइ गुणाले मात्रै बढाउन सुझाब दिएको थियो ।

पुँजी बढाउनका लागि आफूहरुले नै सुझाब दिइसकेको जानकारी दिँदै लघुवित्त बैंकर्स एसोसिएशनका अध्यक्ष रामचन्द्र जोशीले राष्ट्र बैंकले पुँजी बढाउने नीति लिए त्यो स्वागतयोग्य हुन्छ ।

‘मेरो जानकारीमा आएसम्म राष्ट्र बैंकले यो मौद्रिक नीतिमार्फत् तै चुक्ता पुँजी बढाउने छैन,’ जोशीले क्लिकमाण्डूसँग भने, ‘बढाइहाले पनि हामीलाई कुनै अफ्ठेरो पर्दैछ । हामी स्वागत गर्न तयार छौं ।’

सार्वजानिक कार्यक्रमहरुमै राष्ट्र बैंकका गभर्नर डेपुटी गभर्नरलगायतका उच्च अधिकारीहरुले लघुवित्तको संख्या धेरै हुँदा नियमन गर्न कठिन भएको बताउँदै आएका छन् ।


पुष्प दुलाल