चिनियाँ प्रधानमन्त्रीको वेलकम ब्यांकेटमा जान किन भ्याइनन् एफएनसीसीआई अध्यक्षले ?




काठमाडौं । निजी क्षेत्रको भूमिका कमजोर भयो भनेर बेलाबेलामा चर्चा गर्ने गरिन्छ । अझ सरकारले नै निजी क्षेत्रलाई उचित सम्मान र अबसर दिएन भनेर निजी क्षेत्रकै प्रतिनिधिले गुनासो पनि गर्ने गरेका छन् ।

तर, निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था नेपाल उद्योग बाणिज्य महासंघ (एफएनसीसीआइ) कै जिम्मेवार पदाधिकारी आफूले पाएको अबसर गुमाउने गरेको तथ्य फेला परेको छ ।

प्रसंग एफएनसीसीआइ अध्यक्ष भवानी राणाको हो । अध्यक्ष राणाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चिनिया प्रधानमन्त्रीले दिएको ‘वेलकम ब्यांकेट’मा नै सहभागिता जनाइनन् ।

अध्यक्ष राणाको यस्तो भूमिकालाई लिएर नेपाली सरकारी टोलीले पनि आश्चर्य प्रकट गरेको छ । सरकारले निजी क्षेत्रलाई बेवास्ता गर्यो भनेर एफएनसीसीआइकै प्रतिनिधिले गुनासो गरिरहने तर चीन जस्तो आर्थिक महाशक्ति राष्ट्रका प्रधानमन्त्रीले दिएको वेलकम ब्यांकेटमा सहभागी भएर आफ्ना कुराहरु राख्ने मौका गुमाउनुले एफएनसीसीआइको भूमिकाप्रति नै शंका उत्पन्न भएको सरकारी अधिकारीको भनाइ छ ।

‘चिनिया प्रधानमन्त्रीले दिएको वेलकम ब्यांकेटमा एफएनसीसीआइका अध्यक्ष उपस्थित नै हुनुभएन, नेपाली निजी क्षेत्रको प्रतिनिधित्व गर्दै चीन सरकार र त्यहाँको निजी क्षेत्रका प्रतिनिधिसँग सौहार्दपूर्ण सम्बन्ध बनाउने सुनौलो मौका एफएनसीसीआइले गुमायो,’ प्रधानमन्त्री ओलीसँगको चीन भ्रमणमा सहभागी सरकारी एक उच्च अधिकारीले क्लिकमाण्डूसँग भने ।

सो वेलकम ब्यांकेटमा अध्यक्ष राणालाई पनि निमन्त्रणा भने थियो । अध्यक्ष राणाको यस्तो भूमिकाले चीन सरकारले नेपाली निजी क्षेत्रलाई दिएको सम्मानकै अपहेलना भएको ती अधिकारीको बुझाइ छ ।

यस्तै प्रधानमन्त्री ओलीको भ्रमणमा चिनिया निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था चाइना काउन्सिल फर द प्रमोसन आफ इन्टरनेसनल ट्रेड (सीसीपीआइटी) र नेपाली निजी क्षेत्रको प्रतिनिधिमुलक संस्था एफएनसीसीआइको संयुक्त कार्यक्रम पनि थियो । सो कार्यक्रममा प्रधानमन्त्री ओलीले सम्बोधन पनि गरेका थिए । सो कार्यक्रममा पनि अध्यक्ष राणाको सक्रिय सहभागिता नरहेको ती अधिकारीको भनाइ छ ।

एफएनसीसीआइ र सीसीपीआइटीको संयुक्त कार्यक्रममा पनि अध्यक्ष राणाको भूमिकालाई लिएर आलोचना भएको छ । उनी कार्यक्रममा समयमै सहभागी नभएको भ्रमण टोलीको भनाइ छ ।

‘नेपाली र चिनिया निजी क्षेत्रका प्रतिनिधिमुलक संस्थाले संयुक्त रुपमा सो कार्यक्रम आयोजना गरेका थिए, यो हिसाबले हेर्दा एफएनसीसीआइ पनि आयोजक जस्तै थियो, तर एफएनसीसीआइका अध्यक्ष राणा कार्यक्रम सकिने बेलातिर कार्यक्रमस्थलमा प्रवेश गर्नुभएको थियो, आफ्नो प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रममा नेपाली भ्रमण टोलीका महत्वपूर्ण सदस्य समयमै उपस्थित नहुनु राम्रो बिषय भएन,’ भ्रमण टोलीमा सहभागी अर्का एक प्रतिनिधिले भने ।

स्रोतले दिएको जानकारी अनुसार अध्यक्ष राणा प्रधानमन्त्री ओलीले सम्बोधन सक्ने बेलातिर कार्यक्रम स्थलमा पुगेकी थिइन् ।


क्लिकमान्डु