युगाण्डा र बंगलादेशबाट पनि आउन थाल्यो आँप, सबैभन्दा महंगो युगाण्डाको




काठमाडौं । अहिले आँपको सिजन छ । तपाईँ पनि आँप खान रुचाउनु हुन्छ होला । तर, तपाईँले खाने आँप कहाँ कहाँबाट आउछ भन्ने तपाइलाई थाहा छ ?

भारतबाट आँप आउछ भन्ने सामान्य जवाफ हुन सक्छ । भारतबाट नेपालमा आँप आउने गरेपनि अन्य देशहरुबाट नआउने भने होइन ।

हामीले खाने गरेको आँप युगान्डा, थाइल्याण्ड, बंगलादेश र भारतबाट आयात हुने गर्छ । हो हामी कहाँ सबैभन्दा धेरै आँप भारतबाट नै आउने गर्छ । भारतबाट यो आर्थिक वर्षको ११ महिनामा ३३ करोड ३९ लाख रुपैयाँभन्दा बढी मूल्यको आँप भित्रिएको छ । नेपालले भारतबाट यो अवधिमा १ करोड २९ लाख ८९ हजार १ सय ३४ केजी आँप आयात गरेको छ ।

गत आर्थिक वर्षको ११ महिनामा भारतबाट १८ करोड ८९ लाख रुपैयाँ बराबरको आँप आयात भएको थियो । सो अवधिमा १ करोड ९६ लाख बराबरको आँप नेपाल भित्रिएको भन्सार विभागको विवरणले देखाएको छ ।

भन्सार विभागको विवरण हेर्दा नेपालमा भारतबाट आयात हुने आँपको मात्रा बर्सेनि बढ्दो क्रममा रहेको देखिन्छ ।

यस्तै, थाइल्याण्डबाट नेपालले यो आर्थिक वर्षको ११ महिनामा १८ लाख रुपैयाँभन्दा बढीको आँप आयात गरेको छ । यो अवधिमा नेपालले ५ हजार २ सय १५ केजी आँप थाइल्याण्डबाट भित्र्याएको भन्सार विभागको विवरणले देखाएको छ ।

आर्थिक वर्ष २०७३÷७४ को ११ महिनाको अवधिमा थाइल्याण्डबाट १२ लाख रुपैयाँ बराबरको आँप आयात भएको थियो । भन्सार विभागको विवरण अनुसार यो अवधिमा ४ हजार १० केजी आँप थाइल्याण्डबाट भित्र्याएको देखिएको छ ।

थाइल्याण्डबाट पनि आँप नेपाल भित्रिने क्रम बर्सेनि बढ्ने क्रममा रहेको छ ।

गत आर्थिक वर्षसम्म नेपालमा भारत र थाइल्याण्डबाट मात्र आँप आयात हुने गरेको थियो । यो आर्थिक वर्ष सकिन लाग्दा नेपालमा बंगलादेश र युगान्डाबाट पनि आँप भित्रिएको पाइएको छ ।

युगान्डाबाट नेपालमा १७ हजार रुपैयाँको आँप आयात भएको छ । यो आर्थिक वर्षको ११ महिनामा ३२ केजी आँप आयात भएको हो ।

यस्तै, बंगलादेशबाट सबैभन्दा कम आँप आयात भएको देखिन्छ । भन्सार विभागको विवरण अनुसार यो आर्थिक वर्षको ११ महिनामा बंगलादेशबाट १ हजार रुपैयाँ बराबरको ८ केजी मात्र आँप आयात भएको छ ।

कुन देशको आँपको मूल्य कति ?
विभागको तथ्यांक अनुसार बंगलादेशको आँप नेपालले १ सय २५ रुपैयाँ प्रतिकेजीको दरले किन्ने गरेको छ । यस्तै भारतबाट नेपाल आउने आँपको मूल्य प्रतिकेजी २५ रुपैयाँ ७१ पैसा पर्ने गरेको छ ।

थाइल्याण्डबाट आउने आँपको मूल्य ३ सय ५५ रुपैयाँ ५१ पैसा छ भने युगान्डाबाट आउने आँपको मूल्य प्रतिकेजी ५ सय ३१ रुपैयाँ २५ पैसा छ ।


क्लिकमान्डु