मौद्रिक नीतिः अब बीमा नगरेको धितोमा बैंकले ऋण दिन नपाउने



काठमाडौं । अब बीमा नगरी बैंकबाट ऋण लिन नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७५/०७६ को मौद्रिक नीतिमार्फत् बीमा नगरी ऋण लिन नपाइने ब्यवस्था गर्न लागेको हो ।

बैंकबाट प्रवाह हुने प्रत्येक ऋणको धितोको अनिवार्य बीमा गर्नुपर्ने ब्यवस्था गर्न लागिएको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिए ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि बैंकबाट प्रबाह भएका ऋणहरु असुरक्षित हुँदा पनि बैंकहरुलाई असर पर्ने छैन । बीमा कम्पनीले उक्त ऋण तिरिदिन्छ ।

अहिले पनि बैंकहरुले कतिपय क्षेत्रमा प्रबाह गर्ने ऋणको बीमा गर्दै आएका छन् । सबैमा भने यो व्यवस्था अनिवार्य छैन । अब सबै प्रकारका ऋणको धितोको बीमा गर्नु पर्नेछ ।

‘मौद्रिक नीतिले बीमा नगरिएको धितोमा ऋण दिन नपाइने ब्यवस्था गर्नेछ,’ स्रोतले भन्यो- अहिलेकै संरचनाबाट गर्ने कि त्यसका लागि छुट्टै संस्था खडा गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

स्रोतका अनुसार निश्चित सीमासम्मको ऋणको मात्रै अनिवार्य बीमा गर्ने कि सबै ऋणको बीमा अनिबार्य गर्ने भन्ने विषय पनि टुंगो लागि सकेको छैन ।

‘कथमकदाचित ठूलो ऋणको बीमा अनिवार्य व्यवस्था गरिएन भने पनि सानो ऋणको भने अनिवार्य बीमाको ब्यवस्था मिलाइने छ,’ स्रोतले भन्यो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी २ वर्षभित्रमा बीमा कम्पनीहरुले कूल प्रिमियमको १० प्रतिशत लघु बीमाबाट उठाउनु पर्ने ब्यवस्था गरेका छन् । त्यसलाई सहयोग पुर्याउनका लागि पनि राष्ट्र बैंकले कर्जाको बीमा गर्नुपर्ने नीति ल्याउन लागेको हो ।

कर्जाको बीमा गर्नुपर्ने नीति अबलम्बन गर्ने विषयमा अर्थ मन्त्रालयले पनि चासो देखाएको छ । राष्ट्र बैंकका सञ्चालकसमेत रहेका अर्थसचिवले बजेटमा उल्लेख भएको लघुबीमाको लक्ष्यलाई सफल बनाउनका लागि कर्जाको बीमा गर्नुपर्ने बताएका छन् ।

कर्जाको बीमा गर्ने हो भने बीमा कम्पनीहरुले पनि २ वर्षमा सरकारले तोकेको कुल प्रिमियमको १० प्रतिशत लघुबीमाबाट उठाउन सक्ने बीमा समितिका अध्यक्ष चिरञ्जीबी चापागाईं बताउँछन् ।

‘अर्थमन्त्रीले बजेटमार्फत लघुबीमाको जुन लक्ष्य सार्वजानिक गर्नुभएको छ, बैंकबाट प्रबाह गरिएको कर्जाको बीमा गर्ने व्यवस्था नगर्ने हो भने त्यो संभव छैन,’ चापागाईंले क्लिकमाण्डूसँग भने ।

आफूले अर्थमन्त्री र गभर्नर दुबै भएको ठाउँमा यो विषयलाई गंभीरताका साथ उठाएको र उनीहरु अत्यन्तै सकरात्मकरुपमा लिएको चापागाईंले बताए ।

‘मैले अर्थमन्त्री र गभर्नर दुबैजना भएको ठाउँमा यो कुरा उठाएको थिएँ, गभर्नरसाबले मौद्रिक नीतिमार्फत् सम्बोधन गर्ने बचन दिनुभएको छ,’ उनले भने, ‘अर्थमन्त्रीज्यू पनि अत्यन्तै सकरात्मक हुनुहुन्छ ।’


पुष्प दुलाल