राष्ट्र बैंकको बोर्ड बैठक आजः मौद्रिक नीतिको नै प्रस्ताब छैन



काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठक आज (बिहीबार) साँझ बस्ने भएको छ । साँझ सवा ५ बजे बस्ने सञ्चालक समितिको बैठकमा मौद्रिक नीतिबारे कुनै प्रस्ताब नै छैन ।

राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०७५/७६ को मौद्रिक नीति तयार गरिरहेको छ । त्यसैले यो समयमा बस्न लागेको मौद्रिक नीतिका विषयमा छलफल हुने अनुमान थियो ।

‘आजको बोर्ड बैठकमा मौद्रिक नीति बारे औपचारिक छलफल छैन,’ डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले क्लिकमाण्डूसँग भने ।

शिवाकोटीका अनुसार अनौपचारिकरुपमा भने आजको बोर्ड बैठकमा मौद्रिक नीतिबारे छलफल हुने बताए ।

‘अब केही दिनभित्रै आगामी आर्थिक वर्षको मौद्रिक नीति ल्याउनु पर्ने हुन्छ, त्यसैले आजको बैठकमा अवश्य पनि मौद्रिक नीतिबारे अनौपचारिक छलफल हुन्छ नै,’ शिवाकोटीले भने, ‘संभवत भोलिदेखि उच्च ब्यवस्थापन र सञ्चालकहरुबीच मौद्रिक नीतिको छलफल गरेर चाँडै टुंगोमा पुर्याउने भन्ने कुरा हुन्छ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिको खाका तयार पारिसकेको छ । यसरी विभागस्तरबाट तयार पारिएको ड्राफ्ट र सरोकारवालाहरुले दिएको सुझाबलाई हेरेर केही दिनभित्रै अन्त्मि रुप दिइने शिवाकोटीले बताए ।

मौद्रिक नीतिमा के के छन् त ? भन्ने प्रश्नमा शिवाकोटीले जवाफ दिए, ‘अहिलेसम्म के के छन् भन्ने कुरा मलाई नै थाहा छैंन, तपाईंलाई के भनूँ ?’

राष्ट्र बैंकले आगामी साता मौद्रिक नीति ल्याउने शिवाकोटीले जानकारी दिए ।


पुष्प दुलाल