थपिने भयो जीवन बीमा कम्पनी, महालक्ष्मीलाई लाइसेन्स दिन सर्बोच्चको परमादेश



काठमाडौं । जीवन बीमा व्यवसायमा नयाँ कम्पनीको प्रवेश हुने भएको छ । सर्बोच्च अदालतले सबै प्रक्रिया पुरा गरेर महालक्ष्मी इन्स्योरेन्स कम्पनीलाई लाइसेन्स दिनको लागि परमादेश जारी गर्ने आदेश दिएको छ ।

सर्बोच्च अदालतका कामु प्रधानन्यायधीश दीपकराज जोशी र न्यायधीश पुरुषोत्तम भण्डारीको सयुक्त इजलाशले बीमा समितिलाई तोकिएको प्रक्रियाको पुरा गरेर लाइसेन्स दिन परमादेश जारी गरेको हो ।

महालक्ष्मी इन्स्योरेन्सले तोकिएको समयमा चुक्ता पुँजी पुर्याउन नसकेपछि बीमा समितिले लाइसेन्स दिन अस्विकार गरेको थियो । बीमा समितिले ९ वटा नयाँ जीवन बीमा कम्पनीलाई लाइसेन्स दिएपछि महालक्ष्मीको लाइसेन्स नदिएपछि महालक्ष्मी त्यसको विरुद्धमा सर्बोच्च अदालत गएको थियो ।

महालक्ष्मीमा मुख्य प्रवद्र्धकको रुपमा अजेयराज सुमार्गी थिए । पछि विनोद चौधरी समेत सो कम्पनीमा जोडिने चर्चा थियो । महालक्ष्मीले केही उच्च अधिकारी बीमा कम्पनीको लागि नियुक्त समेत गरेको थियो ।

सर्बोच्चको परमादेशपछि बीमा समितिले महालक्ष्मीलाई लाइसेन्स दिनुपर्ने हुन्छ । महालक्ष्मीलाई लाइसेन्स दिएपछि जीवन बीमा कम्पनीको कारोबार गर्ने कम्पनीको संख्या १९ पुग्ने छ ।


क्लिकमान्डु