ओली प्रधानमन्त्री भएपछि सेयर बजारका लगानीकर्ताले खर्ब बढी गुमाए



काठमाडौं । प्रधानमन्त्रीमा निर्वाचित हुनुअघि ‘वेटिङ प्राइम मिनिस्टर’ रहेका केपी शर्मा ओलीले व्यवसायीहरुसँगको एक भेटमा सार्वजानिकरुपमै बाम सरकार गठन भएपछि सेयर बजारमा उछाल आउने बताएका थिए ।

‘नयाँ सरकार बनेका दिन लगानीकर्ताहरुले दिपावली गरे हुन्छ, मिठाइ खाए हुन्छ,’ ओलीले भनेका थिए- ‘तपाईंहरु ढुक्क हुनुस्, नयाँ सरकार आएपछि सेयर बजारमा उछाल आउँछ, नयाँ सरकारले लिने नितीका कारण सेयर बजार असाधारणरुपमा बढ्छ ।’

फागुन ३ गते नयाँ सरकार गठन भयो । ओली प्रधानमन्त्रीमा निर्वाचित भए । उनले भनेजस्तै त्यसदिन सेयर बजारमा उछाल आयो ।

ओली प्रधानमन्त्री बनेको दिन पुँजी बजारको सूचक (नेप्से इन्डेक्स) ३६.०१ अंकले बढेर १४२४ अंकमा पुग्यो ।

लगानीकर्तामा सेयर बजारप्रति नयाँ आशा पलाएको आभाष गरियो ।

तर, सेयर बजारमा यो उत्साह भने लामो समयसम्म टिकेन । उनी प्रधानमन्त्री भएको तेस्रो दिन नै नेप्से परिसूचक ११.०५ अंकले घट्यो ।

सोही बीचमा बजार ५०.१८ अङ्कले बढेको भए पनि उनको कार्यकाल शुरु भएदेखि हालसम्मको अवस्था मूल्याङ्कन गर्दा बजारमा गिरावटकै पल्ला भारी देखिन्छ ।

हिँजो १५.२९ अंकले घटेको नेप्से परिसूचकमा आज भने ४.६२ अङ्कले वृद्धी भएको पाइन्छ । यसरी केही मात्रामा वृद्धि देखिएपनि लगानीकर्ताहरुमा पसेको चिसो पूर्णरुपमा सेलाएको छैन । ओली प्रधानमन्त्री बनेपछि अहिलेसम्म नेप्से परिसूचक २२५ अंकले ओरालो लागेको छ ।

लगानीकर्ताले यो अवधिमा १ खर्ब रुपैयाँभन्दा बढीको सम्पत्ति गुमाइसकेका छन् । बजार घट्दै जाँदा लगानीकर्ता निराश देखिन थालेका छन् ।

कालीकास्थानमा अवस्थित सगरमाथा सेक्यूरेटीजमा भेटिएका लगानीकर्ता जय राई स्क्रिनमा सेयर परिसूचकको नतिजा हेर्नमा व्यक्त थिए । उनले यसरी नै नेप्से परिसूचकको नतिजा नियाल्न थालेको १९ वर्ष पुगिसकेको छ ।

नागरिक लगानी कोषको सेयरबाट आफ्नो यात्रा आरम्भ गरेका उनले लगत्तै नेकोन एयरमा समेत हात हालेका थिए । नागरिकबाट आफू सन्तुष्ट रहेपनि निकोन एयरले आफूलाई झण्डै डुबाएको बताउँछन् । हाल भने उनले लगभग १० वटा कम्पनीको सेयर किनेको बताउँछन् ।

ओखलढुङ्गाबाट पढ्न आएकाले आफूसंग धेरै रकम नभएपनि त्यतिबेला सेयर बजारप्रति गहिरो रुची रहेको बताउँछन् । सोही बेला ऋण लिन नपाए पनि आफूसँग भएको पैसाले उनले बजारमा प्रवेश गरेको बताए ।

हालसम्मको उनको अनुभवले सेयर बजारमा डिमान्ड र सप्लाईले नै मुख्य भूमिका खेल्ने बुझाउँछ । साथै अहिलेको बजारको अवस्था (भोलुम) क्षेत्र पनि यसको निर्धारक तत्व हुने उनको बुझाइ छ । बजारमा पुरानै लगानीकर्ता मात्र रहनु तथा बैंङ्कको व्याजदर नै यसको निर्धारक तत्व हुन आउँने उनको बुझाइ रहेको छ ।

हालको स्थितिमा नयाँ लगानीकर्तालाई उनले अरुको कुरामा भन्दा पनि वास्तविकता आफैंले बुझेर अघि बढ्न सुझाव दिए । स्व–अध्ययन सेयर बजारको राम्रो अस्त्र हुने तथा आत्तिन नहुने अनुभव समेत व्यक्त गरे ।

‘सेयर बजारमा सानो सानो कुराले पनि प्रभाव पार्छ, तर हामीले आत्तिनु हुँदैन,’ राईले क्लिकमान्डूसँग भने ।

यस्तै कालीका सेक्यूरेटीजमा भेटिएका सुरेन्द्र राउतले भने तरलतालाई नै कारण मान्छन् । यस्तै बजार नै तल माथि जानु यसको प्रकृती नै भएपनि आफूले कम्पनी छान्न निकै चलाखी गर्नु पर्ने बताउँछन् ।

उनले किस्ट मर्चेन्ट फाइनान्सबाट १० वर्ष अगाडि २०० कित्ता सेयर किनेर आफ्नो पाइला अघी बढाएको सुनाए । सोही बेला नै उनलाई ७५ प्रतिशत छुट प्राप्त भएको सम्झिन्छन् ।

यो अन्तरालमा उनले सरकारप्रति ब्रोकर चार्ज घटेमा, सकारात्मक अभिव्यक्तीको वृद्धी गरेमा मात्रै पनि सेयर बजारमा निकै परिवर्तन आउँने व्यक्त गरेका छन् । यस्तै, बोनस राइटसेयरको चार्जमा समेत सरकारले ध्यान पुर्याउँदा राम्रो हुने तर्क गरे ।

यस्तै कालीका मै बसेका सुमन रिजाल भने व्याज दरमा नियन्त्रण ल्याएमा बजारमा लगानीकर्ता ढुक्क रहने वातावरणको सिर्जना हुन्छ ।

साउनदेखि लागू हुने भनिएको अनलाईन ट्रेडीङ राम्रोसँग गर्न सकेको खण्डमा सेयर बजारको दायरामा नै वृद्धी हुने बताउँछन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकबाट सेयर बजारमा प्रवेश गरेका रिजाल जिल्ला जिल्लाबाट सेयर कारोबार गर्ने वातावरण आवश्यक रहेको बताउँछन् । सरकार र पैसा दुवैले सेयर बजारमा भूमिका खेल्ने भएकाले सरकार समेत निकै सकारात्मक रहनु पर्ने उनको बुझाई रहको छ ।

क्रिष्टल कन्चनजंगामा रहेका लगानीकर्ता मदनश्याम आचार्यका अनुसार बजारमा सप्लाई बढी भएको छ । व्याजदरमा समस्या कायमै छ । साथै बैङ्कको सङ्ख्या पनि धेरै भयो । लघुवित्त र हाईड्रोप्रति पनि उनले गहिरो असन्तुष्टी व्यक्त गरेका छन् । धितो पत्र बोर्डले नेपाल बैंकलाई दिएको बोनसले आफूमा लगानी गर्न केही निराशापन छाएको बताउँछन् ।

‘यो विश्वासको काम भएन,’ उनले असन्तुष्टि पोखे ।

एफ.पि.ओ. बेचेर पैसा फिर्ता दिने कुरामा सरकारी निकायले अनुगमन गर्नुपर्ने गुनासो व्यक्त गरेका छन् ।

यस्तै, शङ्कर देव कलेजको अगाडि रहेको अनलाइन सेक्यूरीटिजमा रहेका काठमाडौं बनस्थलीका शिव बजगाईँ भेटिए । उनको विचारमा लगानीकर्तामा उत्साह ल्याउन सरकारले बैंकलाई नै सहज बनाउनु पर्ने बताउँछन् ।

यस्तै उचित नीति सहित पैसामा सहजता रहनु पर्नेमा उनको मत रहेको छ । सप्लाइले पनि महत्वपूर्ण भूमिका खेल्नेमा अन्य लगानीकर्ता जस्तै उनले पनि जोड दिए ।

उनले हिमालय बैंकबाट २, ४ वर्ष अघि आफ्नो लगानी शुरु गरेका हुन् । १०, २० कित्ताबाट सेयर बजारमा पसेकाले उनी अरुलाई समेत थोरै रकममा सेयर बजारमा प्रवेश गर्न पाइने कुरा जानकारी हुनु पर्ने बताएका छन् ।

‘सरकारले सेयर बजारलाइ वैकल्पिक रोजगारीको रुपमा लिनुपर्छ,’ बजगाईँले भने ।


क्लिकमाण्डू