व्यापार घाटा २२% ले बढ्यो, आयात बढेको बढ्यै, निर्यात घटेको घट्यै



काठमाण्डौं ।नेपालको व्यापार घाटा वर्षेनि बृद्धि हुँदै गएको छ । नेपालले चालु आर्थिक वर्षको १० महिनामा मात्रै ९ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । चालु आर्थिक वर्षमा गत वर्षको तुलनामा व्यापार घाटामा २२.८ प्रतिशतले बढी हो ।

नेपालको वैदेशिक व्यापारमा आयातको योगदान ९३.७ प्रतिशत रहेको छ भने निर्यातको योगदान ६.३ प्रतिशत छ ।

यो वर्ष नेपालको आयातमा पनि बृद्धि भएको छ । गत वर्षको तुलनामा यो वर्ष आयातमा २१.७ प्रतिशतले बृद्धी भएको छ ।

बढ्दो आयात

पेट्रोलियम पदार्थ आयातमा ३४.४ प्रतिशतले बृद्धि भएको छ । यो वर्ष १ सय ३४ अर्ब रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ ।
फलाम र स्टिल जन्य आयातमा ३१.१ प्रतिशतले बढेको छ । यो वर्ष १ खर्ब १० अर्ब ३८ करोड रुपैयाँ बराबरका फलाम तथा स्टिलजन्य सामाग्री आयात भएका छन् ।

इलेक्ट्रोनिक सामाग्रीको आयात ९ प्रतिशतले बढेको छ । । यो वर्ष २५.४८ अर्ब रुपैयाँ बराबरको इलेक्ट्रोनिक सामाग्री आयात गरिएको छ ।

औषधी आयात पनि १३.२ प्रतिशतले बढेको छ । यो वर्ष २२ अर्ब २५ करोड रुपैयाँ बराबरको औषधी आयात गरिएको छ ।

यसका साथै यो वर्ष २५ अर्ब ३३ करोड रुपैयाँ बराबरको सुन र १० अर्ब १८ करोड रुपैयाँ बराबरको चाँदी आयत गरिएको छ ।

यो वर्ष २३ अर्ब रुपैयाँको सिमेन्ट क्लिङ्कर आयात भएको छ ।

सोयावित तेल आयात पनि १५ प्रतिशतले बढेको छ । यो वर्ष १२ अर्ब ६७ करोड रुपैयाँ बराबरको भटमासका तेल आयात भएको छ ।

नेपालमा भारतबाट पेट्रोलियम पदार्थ, फलाम तथा तिनका उत्पादन, यातायातका साधन अत्याधिक मात्रामा आयत भएको देखिन्छ ।

चीनबाट दूरसञ्चारका सामाग्री, विद्युतीय उपकरण स्याउ तथा रासायनिक मल अत्याधिक निर्यात भएको व्यापार तथा निर्यात प्रर्वद्धन केन्द्रले जानकारी दिएको छ ।

यो वर्ष भारतसँगको आयात २३.२ प्रतिशतले बढेको छ । गत वर्ष भारतबाट ५ खर्ब २७ अर्ब १५ करोड रुपैयाँ बराबरको सामाग्री आयात गरिएको थियो । भारतबाट चालु आर्थिक वर्षमा ६ खर्ब ४९ अर्ब ३५ करोड रुपैयाँ बराबरको सामाग्री आयता गरिएको छ ।

त्यसैगरी चीनबाट हुने आयतामा पनि १९.८ प्रतिशतले बृद्धी भएको छ । भियतनामबाट हुने आयतामा ८५ प्रतिशतले बृद्धी भएको छ ।

जापान, फ्रान्स तथा संयुक्त अरबबाट हुने आयातमा भने कमी आएको छ ।

घट्दो निर्यात

गलैँचा निर्यातमा यो वर्ष ७ दशमलव २ प्रतिशतले गिरावट आएको छ । यो वर्ष ५ दशमलव ७२ अर्ब रुपैयाँ बरारको गलैँचा निर्यात गरेको छ ।

पश्मिना तथा सलको निर्यातमा पनि करिब १० प्रतिशतले कमी आएको छ । यो वर्ष १ दशमलव ८१ अर्ब रुपैयाँ बराबरको पश्मिना निर्यात भएको छ ।

जुस निर्यातमा यो वर्ष १४ प्रतिशतले कमि आएको छ । यो वर्ष फुटवेरको निर्यातमा पनि १० प्रतिशतले कमी आएको छ ।

तयारी पोशाकको निर्यातमा भने यो वर्ष ९.६ प्रतिशतले बढेको छ । यो वर्ष ४ दशमलव ७६ अर्ब बराबरको निर्यात भएको छ ।

यो अवधिमा नेपालबाट ७२ करोडको छाला निर्यात भएको छ । ४.२९ अर्बको अलैँची, २ दशमलव ६ अर्बको चिया निर्यात भएको छ । यस्तै ७१.४७ करोडको टुथपेष्ट र ५३ दशमलव ९५ करोडको हस्तकला सामाग्री निर्यात भएको छ ।

भारतसंगको निर्यात व्यापार यो वर्ष ६.६ प्रतिशतले बढेको छ । यो वर्ष ३८.०३ अर्ब रुपैयाँ बराबरको सामाग्री भारत निर्यात गरिएको छ ।

तर, अमेरिकासँगको व्यापार भने यो वर्ष खस्किएको छ । गत वर्ष ७.४३ अर्बको व्यापार भएको थियो भने यो वर्ष ७.३३ अर्ब रुपैयाँको मात्रै व्यापार भएको छ ।

त्यस्तै चीनसँगको व्यापारमा ७४ प्रतिशतले बृद्धि भएको देखिएको छ । चीनसँग यो वर्ष २ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको व्यापार भएको छ । टर्कीसंगको व्यापार १८ प्रतिशतले बृद्धि भएको छ । टर्कीमा नेपालबाट धागो निर्यात हुने गर्छ ।


पुष्प दुलाल