टेलिकमसँग टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन



 

काठमाडौँ । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने रेकर्ड गर्ने प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ ।

टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख कल डिटेल रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने बताए ।

“प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्रविधि जडान हुन्छ, सबै टेलिफोन र मोबाइलको यस्तो अभिलेख राख्ने प्रविधि, उपकरण एवं भौतिक संरचना पनि टेलिकमसँग छैन”, उनले भने ।

ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख पनि सम्बन्धित ग्राहकबाहेक अरुलाई नदिइने गरेको टेलिकमले जनाएको छ ।

प्रहरीमा परेको उजुरी र अदालतमा मुद्दा परेको अवस्थामा भने ती संस्थाले लेखेको पत्रका आधारमा यस्तो अभिलेख उपलब्ध गराउने अभ्यास छ ।

विभिन्न देशका अनुसन्धानसँग सम्बन्धित संस्था इन्टेलिजेन्स ले भने सूचना लिने प्रयोजनका लागि यस्तो प्रविधि जडान गर्ने गरेका छन् ।

प्रविधिको विकाससँगै उत्पादन भएका आधुनिक मोबाइलका सेटमा भने आवाज नै रेकर्ड गरेर राख्ने एप्स जडान गरिएको छ । यसरी जडान गरिएको एप्सका आधारमा मानिसले विभिन्न विषयको कुराकानीको आवाज राख्ने गरेका छन् । यसरी राखिएको आवाजलाई टेलिकमको प्रविधिले गरेको भनी नबुझ्न पनि उनले अनुरोध गरे ।

संविधानको मौलिक हकमा व्यवस्था भएको गोपनीयताको हकबमोजिम टेलिकमका ल्याण्डलाइन टेलिफोन र मोबाइलमा कुराकानी गर्न सुरक्षित रहेको सहप्रवक्ता अधिकारीले बताए । रासस


क्लिकमान्डु