चौधरी फाउण्डेसनद्वारा मेघौलीको विद्यालयलाई शुद्ध खानेपानी प्रणाली हस्तान्तरण



काठमाडौं । चौधरी फाउण्डेसनले चितवन महानगरपालिका वडा नम्बर २८, मेघौलीस्थित राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र स्थानीयका लागि समेत शुद्ध खानेपानी सेवा उपलब्ध गराएको छ । अन्तर्राष्ट्रिय प्रविधीको ‘वाटर फिल्ट्रेसन सिस्टम’ जडान गरि उक्त विद्यालयमा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको हो ।

चौधरी फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले विहिबार विद्यालयमा आयोजित एक समारोहकाबीच ‘वाटर फिल्ट्रेसन सिस्टम’को उद्घाटन गरे ।

उक्त अवसरमा बोल्दै उनले समाजसेवा आफ्नो कार्यसूचिको पहिलो नम्बरमा रहेको उल्लेख गर्दै साना साना बालबालिकाहरूका लागि शुद्ध खानेपानीको व्यवस्था मिलाउन पाउँदा खुसी लागेको बताए ।

चौधरी फाउण्डेसनले शिक्षा र बालबालिकालाई प्रत्यक्ष लाभ हुने क्षेत्रमा आफुलाई संलग्न गराउदै आएको स्मरण गर्दै अध्यक्ष चौधरीले भने- ‘देशको उज्यालो भविष्यको आधार तयार गर्न शिक्षा र बालबालिकामा नै पर्याप्त लगानी गर्नु जरूरी छ । जसबाट भोलीको नेपाल अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी बनाउन सम्भव हुनेछ ।’

फाउण्डेसनले २०६४ सालदेखि शिक्षित नेपाली, समृद्ध नेपाल भन्ने अभियानका साथ ज्ञानोदय छात्रवृत्ति वितरण गर्दै आएको जानकारी दिदै उनले व्यक्तिको जीवनमा सबैभन्दा महत्व शिक्षाको रहेको बताए ।

फाउण्डेसनका अनुसार करिब १० लाख रूपैयाँ लागतमा उक्त खानेपानी सिस्टम जडान गरिएको हो । जसबाट २४ सै घण्टा शुद्ध खानेपानीको व्यवस्था मिलाइएको छ । यस खानेपानी प्राणालीवाट स्थानीय वासिन्दा पनि लाभान्वित हुने विश्वास गरिएको छ ।

यसैगरि जीर्ण अवस्थामा रहेको स्कूललाई फाउण्डेसनले रंगरोगन गरि चिटिक्क पारिएको छ । यसअघि उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई झोलाबितरण गरीएको थियो । खानेपानी प्रणाली जडान कार्यमा प्लानेट वाटर फाउण्डेशनसँग सहकार्य गरिएको हो ।

विद्यालयकी प्रधान्याध्यापक शोभा कुमालले शुद्ध खानेपानी व्यवस्था गरि आफ्ना विद्यार्थीको शिक्षा र स्वास्थ्यमा योगदान पु¥याएकोमा चौधरी फाउण्डेसनप्रति कृतज्ञता व्यक्त गरे।

चितवनको मेघौलीमा चौधरी ग्रुपले उच्च प्राथमिकताका साथ लगानी गरेको गरेको छ । यहाँ ग्रुपले मेघौली सेराई नामको जंगल सफारी रिसोर्ट संचालनमा ल्याएको छ । सम्भवतः यो रिसोर्ट नेपालकै सबैभन्दा उच्च सुविधाजनक रहेको छ । यस रिसोर्टमार्फत् चौधरी ग्रुपले नेपालमा उच्च गुणस्तरीय पर्यटक भित्रयाउन योगदान गर्दै आएको छ ।

‘मेघौली सेराईमार्फत् मेघौलीको कला, सँस्कृतीलाई विश्वभर पु¥याउने हाम्रो लक्ष्य छ । यसका लागि स्थानीयहरूबाट प्राप्त सहयोगका लागि हामी आभारी छौँ ।’ अध्यक्ष चौधरीले भने ।


पुष्प दुलाल