नेपाल एयरलाइन्सको ऋण मात्रै झन्डै ३७ अर्ब, कसको कति ऋण ?



काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय ध्वाजबाहक नेपाल एयरलाइन्सको ऋण मात्रै झन्डै ३७ अर्ब रुपैयाँ रहेको छ ।

नेवानिले ऋणको भार बढ्दै गएपछि सरकारसँग पुँजी विस्तारका लागि पाँच अर्ब रुपैयाँ माग गरेको छ । नेवानिले सञ्चय कोष, नागरिक लगानी कोष, चिनियाँ एक्जिम बैंक र सरकारी ऋण लिएको छ ।

नेवानिका अनुसार २ वटा एयरबस खरिदका लागि १०.५ प्रतिशतमा व्याजदरमा सञ्चय कोषसँग १० अर्ब ऋण लिएको छ ।
नेवानिले एयरबस खरिद गर्न आर्थिक वर्ष २०७१/०७२ बाट किस्ताबन्दीमा रकम तिर्ने गरी सञ्चयकोषसँग ऋण लिएको थियो ।

यसैगरी नेवानिले चीनबाट ल्याएको तीन वटा वाई १२ सिरिजको जहाज र एमए ६० जहाजको पनि एक्जिम बैंकलाई २ अर्ब १२ करोड रुपैयाँ ऋण तिर्नुपर्ने छ ।

चिनियाँ जहाज खरिदमा अबको ६ वर्षपछिबाट १.७५ प्रतिशत ब्याजदरमा रकम तिर्ने गरी नेवानिले एक्जिम बैंकबाट ऋण लिएको थियो ।

यसैगरी गत आवको मात्रै नेवानिले बाइडबडी जहाज खरिदका लागिसञ्चय कोष र नागरिक लगानी कोषसँग १२÷१२ अर्ब रुपैयाँका दरले २४ अर्ब रुपैयाँ पनि नेवानिको ऋण लिने सम्झौता गरेको थियो ।

सम्झौता अनुसार नेवानिले अहिलेसम्म दुई संस्थाबाट गरी ८ अर्ब ऋण लिइसकेको छ । वाइडबडी जहाज खरिदका लागि सञ्चय कोषको ब्याज ९.५ प्रतिशत र नागरिक लगानी कोषको ९ प्रतिशत ब्याज तोकिएको छ ।

यसबाहेक पनि नेवानिले नेपाल सरकारलाई ५८ करोड रुपैयाँ ऋण तिर्न बाँकी छ । नेवानिले गत आवमा २४ करोड रुपैयाँ नाफा गरेको थियो । तर, पछिल्लो समय नेवानिको नाफा रकम ऋणको ब्याज तिर्नमा खर्च भइरहेको छ ।

जहाज चलाएर नेवानिले फाइदा गर्न नसकेको छैन । नेवानिको खर्च व्यवस्थापनमा प्रमुख स्रोत ग्राउन्ड ह्यान्डलिङ मात्रै हो । यस्तो अवस्थामा नेवानिको पुँजी विस्तार नहुने हो भने नयाँ जहाज खरिददेखि ऋण चुक्ता गर्ने समेत मुस्किल हुने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार बताउँछन् ।

नेवानिले फेरि आन्तरिक उडानका लागि ६ वटा टिव्नअटर र अन्तर्राष्ट्रिय उडानका लागि दुई वटा एयरबस खरिद गर्ने भएको छ । नेवानिले एयरबस खरिद गर्ने निर्णय सञ्चालक समितिबाट स्वीकृत समेत गराइसकेको छ ।


पुष्प दुलाल